तीन दलको झगडा सत्ता बाँडफाँडको : थापा

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते ६:२६ मा प्रकाशित

चितवन, २५ कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलबीच संविधानका एजेन्डामा नभई शक्ति बाँडफाँडमा कुरा नमिलेको दाबी गरेका छन् ।
Kamal-Thapa-Raprapa-Nepal
संविधान जारी भएपछि शक्ति समीकरणमा आफूलाई बलियो बनाउन नेताहरुले बार्गेनिङ गरिरहेको जिकिर गर्दै उनले संविधानका एजेन्डा देखावटी मात्र भएको आरोप लगाए ।

राप्रपा नेपालले मंगलबार भरतपुरमा  आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष थापाले तीन दलकै कारण तोकिएको मिति माघ ८ मा संविधान जारी हुन नसक्ने बताए ।

‘संविधान बनेपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री को बन्ने भन्ने विषयमा यिनीहरुको झगडा छ’, तीन दललाई सङ्केत गर्दै थापाले भने, ‘सात प्रदेशमा हुने, आठमा नहुने, यो नाम हुने त्यो नाम नहुने भन्ने सबै देखावटी कुरा हो ।’ शक्ति बाँडफाँडमा कुरा मिलेको एक हप्ताभित्र संविधान तयार हुने थापाले ठोकुवा गरे ।

काँग्रेस–एमालेको मोर्चाबन्दी, एमाओवादीको मोर्चाबन्दी र तीन दलको निषेधको राजनीति अहिलेको समस्याका रुपमा देखा परेको अध्यक्ष थापाको जिकिर छ । चौथो शक्तिलाई अस्वाभाविक निषेध गरिएको भन्दै उनले संविधान जारी गर्ने विषयमा आफ्नो पार्टी बाधक नबन्ने स्पष्ट पारे ।

‘हामी सर्वधर्म समभाव, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राज्य र राजसंस्थासहितको प्रजातन्त्र चाहन्छाँै । यी एजेन्डा सम्बोधन नभए पनि संविधान जारी गर्ने विषयमा बाधक नबन्ने तर असहमति राख्ने छाँै,’ थापाले भने ।

हिन्दू राज्यको माग गर्दैै पूर्व–पश्चिम रथयात्रा गर्न लागिएको समेत थापाले जानकारी दिाए । हिन्दू राज्यका सवालमा काँग्रेस र एमालेभित्र पनि ठूलो समर्थन रहेको उनले दाबी गरे ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us