काठमाण्डु, २५ कात्तिक– सभापति बाबुराम भट्टराईको अस्वस्थता र दलहरुबीचको विवादका कारण एक सातासम्म स्थगित भएको संविधानसभा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितीको बैठक आज बस्दैछ ।
भट्टराईलाई टाइफाइड भएपछि समितीको बैठक गत मंगलबारदेखि बस्न सकेको थिएन । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
सत्तारुढ नेपाली कांग्रेस एमालेले आफूहरुले अघि सारेको सात प्रदेशको प्रस्ताव छलफलका लागि समितिमार्फत संविधानसभामा लैजानुपर्ने अडान राखेपछि समितिमा विवाद देखिएको छ ।
विपक्षी एमाओवादीसहित मधेसवादी दलले भने दलीय एजेण्डाबारे संविधानसभामा छलफल हुन नसक्ने बताउँदै आएका छन् ।
सभापति भट्टराइले सोमबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, संविधानसभा अध्यक्ष सुवास नेम्वाङलगायतलाई टेलिफोन गरी आज बैठक बोलाएका हुन् ।