काठमाण्डु, २५ कात्तिक– दिल्ली भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न खोजेका छन् ।
मोदीको पार्टी भाजपाका नेता र हिन्दूवादी संगठनका कार्यकर्तासँग भएको भेटमा उनले मोदीसँग भेटाइदिन आग्रह गरेका हुन् । भाजपाका नेपाल हेर्ने प्रमुख अजितकुमारले आफूसँगको भेटका क्रममा ज्ञानेन्द्रले मोदी र गृमहमन्त्री राजनाथ सिंहलाई भेटाइदिन आग्रह गरेको बताए ।
उनका अनुसार ज्ञानेन्द्रले भेट्न चाहेको कुरा मोदीसम्म पुगिसकेको छ । चाणक्यपुरीस्थित लीला प्यालेस होटेलमा बसेका ज्ञानेन्द्रले भारतमा रहेका हिन्दूवादी शुभेच्छुकसँग नेपालमा ‘हिन्दू अधिराज्य’ स्थापनाका लागि सहयोग गर्न आग्रह गरिरहेका छन् ।
उनले भाजपा सम्बद्ध हिन्दू धर्म पक्षधर राष्ट्रिय स्वयंसेवक संघका अध्यक्ष अशोक सिंघललाई भने भेट्न सकेनन् । सिंघल दिल्लीबाहिर रहेकाले तत्काल भेट सम्भव नभएको बताइएको छ ।
ज्ञानेन्द्र नितान्त निजी भ्रमण भन्दै गत शुक्रबार संवाद सचिव फणिराज पाठक र निजी सचिव सागर तिमल्सिनाका साथ शुक्रबार दिल्ली गएका थिए ।