होलेरी, २५ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग सल्लाह लिन रोल्पा आएको बताएका छन् ।
महासचिव कृष्णबहादुृर महरासहित पार्टी नेताहरुका रोल्पा पुगेका प्रचण्डले मंगलबार बिहान होलेरीमा स्थानीयलाई सम्बोधन गर्दै आफू सरसल्लाहका लागि काठमाण्डुबाट रोल्पा आएको बताएका हुन् । आफूलाई अगाडिग जान जनताको सल्लाह चाहिएको उनको भनाइ थियो ।
यद्यपि उनले कस्तो सल्लाह लिन चाहेको भने खुलाएनन् । ‘म तपाईंहरुसँग कसरी हगाडि जाऔं भन्ने सल्लाह लिन आएको छु’, प्रचण्डले भने, ‘मलाई लाग्छ तपाईंहरुको सल्लाहले मलाई अगाडि जान मद्दत गर्नेछ ।’
उनले आफ्नो रोल्पा भ्रमणको अर्को उद्देश्य जनयुद्धका बेला बसेका स्थानहरुको भ्रमण गर्नु रहेको पनि बताए । माओवादीले होलेरी चौकीमा आक्रमण गरी १ फागुन २०५२ मा जनयुद्ध घोषणा गरेको थियो ।
यस्तै नुवागाउँमा सहिद परिवारहरुसँग भेटघाट गर्दै प्रचण्डले राज्यका तर्फबाट पाउनुपर्ने राहतका लागि संसदमा संघर्ष गरिरहेको बताए । प्रचण्ड आज विभिन्न स्थान हुँदै घर्तीगाउँ पुगेर बास बस्ने कार्यक्रम छ ।
उनको टोलीमा महासचिव महराका साथै सचिव वर्षमान पुन, स्थायी समिति सदस्य नन्दकिशोर पुन, पूर्वलडाकु कमाण्डर घनबहादुर मास्की र तेजप्रकाश ओलीलगायत छन् ।