विप्लवको ‘नयाँ माओवादी’ बनाउने तयारी

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा साहित्यकार ऋषिराज बरालले केही दिनअघि ट्वीटरमा अध्यक्ष मोहन वैद्य तथा महासचिव रामबहादुर थापा बादलबाट अब क्रान्ति नहुने लेखेका थिए । उनले ‘मान्य छैन विप्लववाद’ शीर्षकमा लेख लेख्ने घोषणा पनि गरे । बरालले ‘नेपाली नयाँ जनवादी क्रान्तिका सम्बन्धमा किरण र विप्लवभन्दा मेरा फरक धारणा छन्’ पनि ट्वीट गरे ।
Chand
बरालका यी निरन्तरका ट्वीटहरुले नेकपा–माओवादीभित्रको विवाद र अन्तसंघर्षलाई संकेत मात्रै गरेको थियो । तर, सोमबार डाकिएको पोलिट्ब्युरो बैठक बहिष्कार गरेर पार्टी सचिव नेत्रविक्रम चन्द ‘विप्लव’को पक्षले नयाँ पार्टी निर्माण गर्न लागेको व्यवहारिक पुष्टि गरेको छ ।

केही समयदेखि विप्लव धाराले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक वा राष्ट्रिय भेलाद्वारा पार्टीको आगामी कार्यनीति तय गर्न माग गरेको छ । अध्यक्ष बैद्यले भने उनको माग सुनुवाइ गरेका छैनन् । विप्लव महाधिवेशनकै पक्षमा भएको उनीनिकट स्रोत बताउँछ ।

विप्लव केही समययता जिल्ला भ्रमणहरुमा निस्केका छन् र स्थानीय स्तरमा संगठन विस्तार गर्दै हिंडेका बताइएको छ । उनले ‘एकीकृत क्रान्तिको मोडल’ भन्दै ग्रामीण संघर्ष र सहरी विद्रोहको संयोजनबाट क्रान्ति गर्ने नयाँ सिद्धान्त पार्टीमा पेश गरेका छन् ।

किरण पक्षलाई विप्लव धाराले ‘संशोधनवादी’को आरोप लगाउने गरेका छन् र सोमबारको बैठक पनि उनीहरुले यही आरोप लगाउँदै बहिष्कार गरेका थिए । विप्लवले आफ्नो प्रस्तावित सिद्धान्तको पुस्तक पनि प्रकाशित गर्दैछन् ।

पार्टीभित्र विप्लव पक्षका भनेर चिनिएकै केही नेताहरु भने विप्लवको सिद्धान्तमा पनि सहमत देखिन्नन् । त्यसमध्ये एक केन्द्रीय सदस्य बराल हुन् । उनले विप्लवका विपक्षमा लेख्ने सार्वजनिक गरिसकेका छन् ।
संविधान निर्माणको प्रक्रिया उत्कर्षतिर जाँदै गर्दा संविधान सभा नै बहिष्कार गरेको दलभित्र पनि फुट र विभाजन देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us