विद्यालय सुधारको रकम दुरुपयोग गर्ने प्रअ र अध्यक्षविरुद्ध मुद्दा दायर

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ११:५९ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अनुदानको रकम दुरुपयोग गरेको अभियोगमा सप्तरीको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सप्तरी जिल्ला प्रसवनी स्रोतकेन्द्रअन्तर्गत राष्ट्रिय प्रावि डिमन–८ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर यादव र प्रअ रेखा यादवले आर्थिक वर्ष २०६७–६८ देखि हालसम्म सरकारबाट प्राप्त तीन लाख अनियमितता गरेको खुल्न आएको छ ।

उनीहरूले सरकारी कोषबाट प्राप्त भएको अनुदानको रकम अनियमित तरिकाले खर्च गरेको, खर्चको कुनै लेखा परीक्षण नगरेको पाइएकाले आयोगको ऐन २०५९ अनुसार हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै पशु आहार उत्पादन विकास समिति हेटौँडामा कार्यरत तत्कालीन लेखापाल नदकिशोरप्रसाद साहले सेवा प्रवेशको क्रममा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

साहले पेस गरेको विहार इन्टरमिडियट एजुकेशन काउन्सिल, पटना भारतअन्तर्गत सन् १९८३ मा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us