महाधिवेशन प्रतिनिधि खेताला खोजेर पठाउन पाइँदैन : विद्यार्थी नेता

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ८:०९ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक – नेपाली काँग्रेसको भातृसंगठन नेविसंघका असन्तुष्ट पक्षले आगामी कार्तिक ३० गतेदेखि हुने महाधिवेशन विधिसम्वत रुपमा गराउनुपर्ने माग गरेका छन् ।

nsuसोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महाधिवेशन गर्ने नाममा भागबण्डाको आधारमा खेताला खटाएर प्रतिनिधिहरुको नामावली पार्टी समक्ष पठाउने जस्ता अवैधानिक कार्य भएको भन्दै तत्काल उक्त कार्य सच्याएर विधि र प्रक्रिया अनुसार नामावली संकलन गर्नुपर्ने माग गरेका हुन् ।

उनीहरुले वर्तमान सभापति रञ्जित कर्णको कार्यशैलीप्रति कडा आलोचना गर्दै तत्काल अलोकतान्त्रिक गतिविधि रोकेर विधि अनुसार नै महाधिवेशन गराउनुपर्ने स्पष्ट पारेका छन् ।

नेविसंघका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले जिल्ला र क्याम्पसहरुबाट विधिवत रुपमा अधिवेशन गराई छनौट भएका प्रतिनिधिहरु यथावत हुनुपर्ने र बाँकी रहेका जिल्ला र क्याम्पसहरुमा तत्काल अधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।

उनले भने–‘ वर्तमान सभापतिको हुकुमी शैलीले गर्दा अहिले विवाद सिर्जना भएको हो, कर्णले तत्काल अलोकतान्त्रिक गतिविधि त्याग्नुपर्छ ।’
अर्का केन्द्रीय सदस्य जगदिस बमले विधिवत रुपमा अधिवेशन नगरी भागबण्डको आधारमा निर्णय गरिएका किर्तिपुर, विश्वभाषा, नेपाल कमर्श क्याम्पस, सरस्वती, बाल्मिकी, रत्नराज्य, बैतडी, सल्यान, चितवन, रुपन्देही, बारा, पर्सा, धनुषा लगायतका जिल्लाहरुमा तत्काल अधिवेशन गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै तुलसा पन्तले महाधिवेशन निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित र भयरहित ढंगबाट सम्पन्न गर्नका लागि पार्टीले विश्वसनीय वातावरण निर्माण गर्नुपर्ने सुझाव राखेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us