संविधानको यात्रालाई रोक्नु सूर्यलाई हत्केलाले छेक्नुसरह : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ७:१८ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गतेभित्र नयाँ संविधान बन्ने यात्रालाई रोक्नु सूर्यलाई हत्केलाले छेक्नुसरह हुने बताएका छन् ।

Sushil_koiralaसर्वमान्य नेता गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा ‘गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठान’ द्वारा सोमबार शान्तिवाटिकामा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री कोइरालाले अब मुलुकमा कसैको डर, धम्की र जोरजबर्जस्ती तथा बन्दुकको राजनीतिक नचल्ने भन्दै संविधान निर्माणको यात्रा पूरा भएरै छाड्ने अठोट व्यक्त गरे ।

प्रधानमन्त्री कोइरालाले भने, ‘हामीलाई त्यस प्रकारको दृढता र प्रतिबद्धता सर्वाेच्च नेता गणेशमानले दिनुभएको छ, हामी प्रजातन्त्रका मूल्य, मान्यता र आदर्शबाट विचलित नभई नेपालीको शिर माथि उठाउने यात्रामा अघि बढिरहनेछाँै ।’

उनले आफूले हिजोमात्रै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्र्रचण्ड’सँग कुराकानी गरेको सुनाउँदै तर्साउने र धम्काउने प्रकारका अभिव्यक्ति नदिन आग्रह गरेको जानकारी दिए ।

प्रधानमन्त्री कोइरालाले हालै भारतसँग गरिएको ऊर्जा विकास र व्यापारसम्बन्धी सम्झौतामा नेपाल तल पर्ने कुनै काम नभएको पनि स्पष्ट पारे ।
कार्यक्रममा सभामुख सुवास नेम्बाङले सत्तापक्ष पत्रकार सम्मेलन र प्रतिपक्ष आमसभामा उत्रेर आफ्ना कुरा राख्ने क्रमलाई छाडेर आफँैले बनाएका संविधानसभा र सम्बन्धित संयन्त्रमा बसेर छलफल गरेर टुङ्गोमा पुग्न ध्यानाकर्षण गराए ।

उनले माघ ८ गतेको मूल कार्यतालिकामा परिवर्तन गर्न नसकिने भन्दै आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनमा आउने विदेशी विशिष्ट पाहुनाले कात्तिक मसान्तमा संविधानको मस्यौदा बन्ने भनेको होइन भनी सोधेमा जवाफविहीन हुनुपर्ने अवस्था अन्त्य गर्न आग्रह गरे ।

‘नेताहरूले सबै सहमति भइसकेको छ, निर्णय गर्न दुई घन्टामात्र भए पुग्छ भन्नुभएको छ तर त्यसका लागि पनि बैठक त बस्नुप¥यो । बाहिर बाहिर बोल्दै हिँडेर कहाँ सहमति हुन्छ ?’ सभामुख नेम्बाङले भने ।

उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले गणेशमान सिंहको प्रेरणालाई ग्रहण गर्दै अब सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी गरेर आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताए ।

पूर्व सभामुख दमननाथ ढुङ्गानाले विगतमा सहमति भइसकेका धर्मनिरपेक्षता, समावेशी र सङ्घीयताबाट पछाडि नफर्कन आग्रह गरे ।

प्रतिष्ठानका अध्यक्ष तथा सभासद् भीमसेनदास प्रधानले यो वर्षभरि गणेशमानसिंहको जन्म शताब्दीका लागि विभिन्न कार्यक्रम आयोजना गरिने बताए ।

जनआन्दोलन स्वर्ण पदक प्रदान

कार्यक्रममा प्रधानमन्त्री कोइरालाले वरिष्ठ पत्रकार हरिहर बिरहीलाई यस वर्षको जनआन्दोलन स्वर्ण पदकबाट विभूषित    गरे ।

एक तोला सुन र तीन तोला चाँदीबाट निर्मित सो पदक प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिताका माध्यमबाट योगदान पुर्याएबापत विरहीलाई प्रदान गरिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us