बालक हत्या आरोपमा एक पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ७:०७ मा प्रकाशित

चितवन , २४ कात्तिक – पूर्वी चितवनको वीरेन्द्रनगरका एक बालकको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार धादिङ घर भई मजदुरी गर्दै आएका २० वर्षीय महेन्द्रथिङ तामाङलाई पक्राउ गरिएको हो । उनलाई आफ्नो गृह जिल्लामै लुकिरहेको स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनले हत्या गरेको स्वीकार गरेका छन् । थप अनुसन्धान भइरहेको र कारणबारे पत्रकार सम्मेलन गरेरै जानकारी गराउने प्रहरीले जनाएको छ । सो विषयमा अहिले खैरहनी प्रहरीले अनुसन्धान गरिरहेको छ । वीरेन्द्रनगरका ११ वर्षीय बालक होमबहादुरको हत्या आरोपमा उनी पक्राउ परेका हुन् ।

तीन साताअघि हराएका एक बालकको शव गाडेको अवस्थामा यही कात्तिक २१ गते फेला परेको थियो । चितवन प्रहरीले शव भेटेकै दिन उनको हत्याको आशङ्कामा अनुसन्धान अगाडि बढाएको थियो ।

वीरेन्द्रनगर–२ निवासी रामबहादुर आले मगरका ११ वर्षीय छोरा होमबहादुरको शव स्थानीय पम्फा खोलाको सिसौघारी नजिकै खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको चितवनका प्रहरी प्रवक्ता शान्तिराज कोइरालाले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us