सगरमाथा र आमाडब्लम हिमालको आधार शिविरमा वाइफाई सेवा

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ७:०३ मा प्रकाशित

सोलुखुम्बु, २४ कात्तिक – सगरमाथा र आमाडब्लम हिमालको आधार शिविरमा इन्टरनेटको वाइफाई सेवा सञ्चालन भएको छ ।

wifiएभरेष्ट लिङ्कले जिल्लाको खुम्बु क्षेत्रमा इन्टरनेट जडान गर्ने क्रममा ती हिमालको आधारशिविरमा समेत इन्टरनेट सेवा प्रदान गरेको हो । यस्तै जिल्लाको नाम्चे, खुम्जुङका साथै पर्यटकीय बस्तीहरु गोक्यो, दोले, मछेर्मो, फेरुचे, दिङ्बुचे, दिबुचे, फोर्चे, तेङ्बोचे, पाङोचे, मञ्जो, फाक्दिङलगायतका स्थानमा पनि इन्टरनेट सेवा सुचारु भएको छ ।

पर्यटकको सुविधालाई ध्यान दिएर खुम्बुको करिब ७० प्रतिशत क्षेत्रमा इन्टरनेट सेवा पु¥याएको एभरेष्ट लिङ्कका प्रबन्धक बुद्धि तामाङले जानकारी दिए । हाल २० एमबी गति रहेको सो इन्टरनेट चाँडै ब्याण्डविथमा ४० एमबी बनाएर तीव्र गतिको इन्टरनेट सेवा दिने पनि प्रबन्धक तामाङले बताए ।

इन्टरनेट सेवा चालु भएपछि दुर्गम उच्च हिमाली क्षेत्रको कुनाकन्दरासम्म ल्यापटप, मोबाइल, ट्यावलेटलगायत अन्य डिभाइसहरुमा वाइफाईमार्फत इन्टरनेट प्रयोग गर्न सकिनेछ । इन्टरनेट सेवा पाएपछि यस क्षेत्रमा आउने पर्यटक निकै खुसी भएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us