वायुसेवा निगमका वरिष्ठ निर्देशकमाथि भ्रष्टाचार मुद्दा

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते १२:२१ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका वरिष्ठ कामु निर्देशक अच्युतराज पहाडीमाथि भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार कामु निर्देशक पहाडीले विभिन्न समयमा विमानको पाङ्ग्रा (टायर) खरिदमा रु २० लाख दुई हजार २१६ भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ ।

पहाडीले अन्तर्राष्ट्रिय उडानमा रहेको जहाजको टायर जगेडा रहँदारहँदै खरिद गरी निगमलाई हानी नोक्सानी पुर्याएको पाइएको छ । खरिद प्रक्रियामा समेत कानुनी प्रावधान पूरा नगरेको र बढी रकम तिरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पहाडीले ७८० अमेरिकी डलर पर्ने मुख्य टायर एक हजार ४७५ मा खरिद गरेको र ५७५ डलर पर्ने नोज टायर एक हजार १० डलरमा खरिद गरेका थिए । खरिद गरिएका टायर निगमको आफ्नै उडानबाट खरिद नगरी अन्य उडानबाटै ल्याइएको समेत पाइएको छ ।

विसं २०६५ भदौ ११ गते ती टायर खरिद गरिएका थिए । निगमको बि ७५७ जहाजमा प्रयोग हुने टायर खरिदमा सार्वजनिक खरिद ऐनको प्रावधानलाई समेत ध्यान नदिइएको आयोगको ठहर छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us