
एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो मन्त्री मण्डल विस्तारमा २१ जना नयाँ मन्त्री थपेका छन् । आइतबार चार जना क्याबिनेट मन्त्री, तीन जना बिनाविभागीय राज्य मन्त्री र १४ जना राज्यमन्त्री थपिएका हुन् ।
गोवाका पूर्व मुख्यमन्त्री मनोहर परिरकरसहित चार जनालाई मोदीले क्याबिनेट मन्त्री बनाएका छन् । परिरकसहित शिव सेनाका नेता सुरेश प्रभु, भाजपाका महासचिव जेपी नड्डा र हरियाणाका जाट नेता चौधरी वीरेन्द्र सिंहलाई क्याबिनेट मन्त्री बनाइएको हो ।
नयाँ मन्त्रीमण्डलमा मोदीले दुईजना दलित नेता रामशंकर कथेरिया र विजय साम्पलालाई पनि मन्त्री बनाएका छन् ।
त्यसैगरी मोदीले मन्त्री बनाएकामध्ये केही नेता विवादास्पद छविका पनि छन् । त्यसमध्ये विहारका सांसद गिरिराज सिंहले चुनावको अवधिमा ‘मोदीविरुद्ध लाग्नेहरु पाकिस्तान छिर्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाए । गत जेठमा सरकार प्रमुख भएपछि मोदीको यो पहिलो मन्त्रीमण्डल विस्तार हो ।