काठमाण्डु, २३ कात्तिक – प्रतिपक्षी २२ दलले देशव्यापी आमसभाका कार्यक्रम गर्दै सत्तारुढ दललाई दबाब दिइरहेका बेला सत्तारुढ दलले भने पत्रकार सम्मेलन गरेर विरोधीलाई धम्क्याउने तरिका रोजेका छन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला र सत्तारुढ दोस्रो दल एमाले अध्यक्ष केपी शर्मा ओलीले संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख प्रतिपक्षीलाई नधम्काउन चेतावनी दिएका हुन् ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी कोइराला र ओलीले संविधान निर्माण प्रक्रिया पनि एमाओवादीले नै रोकेको आरोप समेत लगाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री कोइरालाले भने, ‘प्रचण्डजीले पहिले पनि धम्काउने र थर्काउने गर्नुहुन्थ्यो, अहिले पनि त्यस्तै गर्नुभएको छ, अब त्यसो गर्न रोक्नुस् ।’
एमाले अध्यक्ष ओलीले एमाओवादीले सानातिना बखेडा झिकेर संविधान निर्माणजस्तो ठूलो विषयलाई ओझेलमा पार्न खोजेको आरोप लगाए । ओलीले सत्तारुढ दलले अघिल्लो साता तयार पारेको संयुक्त प्रस्ताव सहमतिकै लागि बनाइको समेत जिकिर गरे ।
ओलीले भने, ‘हामी एक्लै जान खोजेको वा कसैलाई एक्ल्याउन खोजेको होइन । सँगै लिएर जाने हो । तर, कहाँकहाँ पुगेर के बोल्दै हिंडेर कसरी सहमति हुन्छ ?’
पत्रकार सम्मेलनमा राप्रपा, बहुजन समाज पार्टी र स्वतन्त्र सभासदहरु चन्द्रेश्वर झा तथा अहतर कमाल पनि सहभागी थिए ।