काठमाण्डु, २३ कात्तिक – उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले माघ ८ गते नै संविधान आउने दाबी गरेका छन् । राजधानीमा आइतबार भएको ट्राफिक प्रशिक्षण कार्यक्रममा बोल्दै गौतमले सबैलाई सहमत गराएरै माघ ८ गतेभित्र संविधान जारी गर्ने दाबी गरेका हुन् ।
‘नेपालका ट्राफिक प्रहरीका लागि अङ्ग्रेजी भाषा एवम् व्यक्तित्व विकास प्रशिक्षण प्रमाणपत्र वितरण’ कार्यक्रममा गौतमले सहमति नगर्नेहरुलाई जनविरोधी भएको आरोप समेत लगाए । उनले भने, ‘जनताले संविधान चाहेका छन् त्यसैले जुनसुकै मूल्य चुकाएर भएपनि संविधान जारी गरेरै छाड्छौँ ।’
सडक प्रयोग गर्ने सबैलाई अनुशासित बनाउन ट्राफिक नियम कडाइका साथ पालना गराउनुपर्नेमा पनि उनले जोड दिए । ट्राफिक प्रहरी नायब महानिरीक्षक केशवप्रसाद अधिकारीले पहिले साधारण लेखपढ भए पुग्ने भएका कारण कुनै पर्यटकले केही जिज्ञासा राख्दा ट्राफिक प्रहरीले समस्या भोग्नुपर्ने अवस्था रहेकाले उनीहरुलाई अङ्ग्रेजी भाषामा दक्ष बनाउन अङ्ग्रेजी कक्षा सञ्चालन गर्नुपरेको बताए ।
कार्यक्रममा अङ्ग्रेजी भाषाको कक्षा लिएका ट्राफिक प्रहरी कोपिला बानियाँ र झलकप्रसाद शर्माले अङ्ग्रेजी भाषाको उक्त कक्षाले आफूमा आत्मविश्वास बढेको बताए ।
आसन्न सार्क शिखर सम्मेलनलाई दृष्टिगत गरी ट्राफिक प्रहरीका १८ जना अधिकृतलाई अङ्ग्रेजी भाषाको प्रशिक्षण दिइएको थियो ।
रासस