गोरखामा प्रहरी र स्थानीयबीच झडप, दर्जन बढी घाइते

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते ९:०४ मा प्रकाशित

गोरखा, २३ कात्तिक – गोरखाको लक्ष्मीबजारमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुँदा एक प्रहरी जवानसहित एक दर्जनभन्दा बढी स्थानीय बासिन्दा घाइते भएका छन् ।

गोरखाका यातायात व्यवसायीले स्थानीय यात्रुलाई गाडीमा यात्रा गर्न नदिएको विरोधमा सडकमा बन्द गर्दै आएका स्थानीय बासिन्दा र प्रहरीबीच आज बिहान साढे एघार बजेदेखि पटक–पटक झडप भएको थियो । स्थानीय बासिन्दाले यातायात व्यवसायी र प्रशासनसँग वार्ता नगर्ने अडानसहित डेढ घन्टा सडक बन्द गरेपछि प्रहरीले सडक खुलाएको हो ।

‘सडक बन्द हुँदा हजारौँ यात्रुले दुःख पाए,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक दीपक श्रेष्ठले भने, ‘बन्दकर्ताले सम्बन्धित निकायम छलफल गर्नुको सट्टा सडक बन्द गरेपछि बल प्रयोग गर्न बाध्य भयौँ ।’

बन्दकर्ताले ढुङ्गामुढा गरेपछि लाठी चलाउनुपरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले हानेको इँटाले लागेपछि प्रहरी जवान बमबहादुर थापा घाइते भएका छन् । उनको देब्रे कन्चटमा इँटा लागेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

दोहोरो झडपमा परेर एक दर्जनभन्दा बढी स्थानीय बासिन्दा घाइते भएका छन् । बन्दकर्ताले हानेको ढुङ्गाले ना४ख १४८६ नम्बरको यात्रुबाहक बसको अगाडिको शिशा फुटेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

गोरखा बजारबाट छुट्ने यात्रुबाहक बसहरुले कट्टेलचोक, ठिगुँरेस्वाँरा, लक्ष्मीबजार, टक्सार, बिरेनचोकका स्थानीय बासिन्दालाई यात्रा गर्न नदिएको बन्दकर्ताले बताउँदै आएका छन् । ‘काठमाडौँ, पोखरा, खैरेनी जाने मात्रै गाडीमा चढ्नुस् । अरुलाई चढ्न दिँदैनौँ भनेर गाडीबाट झारिदिन्छन्,’ स्थानीय बासिन्दा रोलकबहादुर थापाले भने, ‘आफ्नो घरअगाडि गाडी ओहोरदोहोर गर्छ । हामी डेढ घन्टा हिँडेर सदरमुकाम पुग्नुपर्छ ।”

यातायात व्यवसायीले स्थानीय प्रशासनले गाडीमा यात्रु क्षमता सङ्ख्या लेखेकाले निश्चित ठाउँमा पुग्नेहरुलाई मात्रै गाडीमा चढाएको बताएका छन् । गोरखाबजार भएर दिनहुँ पृथ्वी राजमार्ग बस सञ्चालक समितिमार्फत र यातायात व्यवसायी समिति गोरखाअन्तर्गतका सयौँ बस सञ्चालन हुँदै आएका छन् ।

अहिले स्थानीय बासिन्दा, प्रशासन र यातयात व्यवसायीबीच जिल्ला प्रशासन कार्यालयमा वार्ता भइरहेको छ । प्रहरीले ढुङ्गा हानेको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको जनाएको छ । अहिले लक्ष्मीबजारको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us