काँग्रेसमा अमरेशको नेतृत्वमा सात प्रदेशविरुद्ध मधेसी सभासदको हस्ताक्षर

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते १:२८ मा प्रकाशित

amreshकाठमाण्डु, २३ कात्तिक– एमाले र राप्रपासहित मिलेर संघीयताबारे काँग्रेसले ल्याएको सात प्रदेशको प्रस्तावप्रति काँग्रेसकै सभासदले कडा आपत्ति जनाएका छन् ।

पूर्वघोषणाविपरीत पार्टी अघि बढेको भन्द्यै उनीहरुले हस्ताक्षर अभियान चलाएका छन् । अभियानमा संलगन काँग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवका अनुसार शनिबारसम्ममा ४२ सभासदले हस्ताक्षर गरेका छन् । आइतबार बिहानसम्ममा ५० सभासदको हस्ताक्षर हुने उनले बताए ।

तराई–मधेसबाट संविधानसभामा प्रतिनिधित्व गर्ने काँग्रेसका ५७ सभासद छन् । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका फर्मुल्लाह मन्सुर र सभासद अमरेशकुमार सिंहले हस्ताक्षर अभियानको नेतृत्व गरेका छन् ।

संघीयतामा जाँदा तराईका जिल्लाहरुलाई पहाडमा मिलाउन नहुने उनीहरुको माग छ । पार्टीले विगतमा गरेको निर्णयविपरीत मधेसलाई बेवास्ता गरिए पार्टी ह्वीपसमेत नमान्ने सभासद सिंहले बताए । हस्ताक्षर गर्ने सभासदको सूची भने सार्वजनिक गरिएको छैन । तराईबाट प्रतिनिधित्व गर्ने पहाडी मुलका केही सभासदले पनि हस्ताक्षर गरेका छन् ।
आइतबार पार्टी सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालालाई हस्ताक्षरसहितको माग पत्र बुक्राउने अभियानकर्ताहरुको तयारी छ । स्रोतका अनुसार अभियानमा मन्सुर, यादव, सिंहसँगै राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव, सीताराम मेहता, राजेन्द्र अमात्य, अमृत अर्याल, रामअयोध्याप्रसाद यादव, तुजेलाल चौधरी, गणेश मण्डल, प्यारेलाल राना, रामचन्द्र चौधरी, राधेचन्द्र यादवलगायत छन् ।

त्यस्तै सुरेन्द्र चौधरी, ताराकान्त चौधरी, सुरेन्द्र यादव, पद्मनारायण चौधरी, कविता सरदार, बादशाह कुर्मी, मिनाक्षी झा, मधु शाही, रश्मी ठाकुरलगायतले पनि हस्ताक्षर गरेका छन् ।
कोषाध्यक्ष चित्रलेखा यादव, विमलेन्द्र निधि, महेश आचार्य र बालकृष्ण खाँडले पनि हस्ताक्षर गर्ने आश्वासन दिएको सिंहले बताए । शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा तराईबाट प्रतिनिधित्व गर्ने सभासदहरु भेला भएका थिए । भेलाको अध्यक्षता मन्सुरले गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us