चितवन, २२ कात्तिक– पूर्वी चितवनको वीरेन्द्रनगरमा हराएका एक बालकको शव गाडेको अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको हत्या भएको आशङ्का गरिएको छ । वीरेन्द्रनगर–२ का रामबहादुर आले मगरका ११ वर्षीय छोरा होमबहादुरको शव स्थानीय पम्फा खोलाको सिसौघारी नजिकै खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको हो ।
बालकका बुबा रामबहादुरले छोरा हराएको भनी गत कात्तिक २ गते इलाका प्रहरी कार्यालय भण्डारामा निवेदन दिएका थिए । सोही उजुरीको आधारमा उनको खोजी भइरहेको थियो । चितवनका प्रहरी प्रवक्ता शान्तिराज कोइरालाले घटना प्रकृति हेर्दा बालकको हत्या भएको हुन सक्ने बताए ।
घाँस काट्न गएका स्थानीय महिलाले टाउको र खुट्टाको अस्थिपञ्जर गाडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकले लगाएको कपडा र चप्पलका आधारमा मृतकको पहिचान भएको प्रहरीले जनाएको छ ।