विश्वविद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउनुहुँदैन : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते १२:५८ मा प्रकाशित

बनेपा, २२ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले विश्वविद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउन नहुने बताएका छन् ।

sushilकाठमाडौँ विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहलाई शनिबार धुलिखेलमा सम्बोधन गर्दै विश्वविद्यालय राजनीति गर्ने थलो नभएको बताए ।

उनले मुलुकमा बौद्धिकता पलायनको अवस्था दर्दनाक भएको उल्लेख गर्दै पेसेवर बौद्धिक समुदाय चिकित्सक, इन्जिनियरलगायत विज्ञता भएका व्यक्ति अवसरको खोजीमा पलायन हुनु दुर्भाग्य भएको उल्लेख गरे ।

बौद्धिक समुदायलाई मुलुकमा नै आकर्षित गरेर उनीहरुसँग फाइदा लिनुपर्नेमा जोड दिँदै प्रम कोइरालाले विश्वविद्यालयलाई अनुसन्धान र अन्वेषणको थलो बनाउनु पर्नेमा जोड दिए ।

मुलुकमा निर्धारित समयमा नै नयाँ संविधान जारी हुने उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भने, ‘दिगो शासन व्यवस्थाको अभावमा मुलुकले अस्थिरता झेलिरहेको छ, त्यसैले छिटोभन्दा छिटो निकास खोजेर मुलुकलाई संवृद्धिको दिशामा अघि बढाउनुपर्छ ।”

विश्वविद्यालयबाट मेडिकल साइन्सेज विधामा आठ हजार ३४३ दीक्षित भएका छन् । उनीहरु सबै एमबिबिएस विधाका विद्यार्थी हुन् । दीक्षित भएकामध्ये भारतका १७८, श्रीलङ्काका सात, मालदिभ्सको एक, भुटानको एक र अमेरिकाका एक रहेका छन् ।

कार्यक्रममा अस्ट्रियाका युरोपमा नै लोकप्रिय शरीर विज्ञान विषयका विद्वान प्रा डा विलहेल्म फिरबास, केयुका उपकुलपति डा रामकण्ठ माकाजुले शिक्षालाई सेवाका रुपमा उपयोग गर्न सुझाव दिए ।

सो अवसरमा एमबिबिएस स्नातक तहमा सबैभन्दा बढी अङ्क ल्याउने नोबेल मेडिकल कलेज विराटनगरकी छात्रा ज्योति विधानलाई भाइसचान्सलर स्वर्णपदक प्रदान गरिएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us