जनकपुर, २२ कात्तिक – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल जोगाउने या नजोगाउने मधेसी जनताको हातमा आएको बताएका छन् ।
शनिबार जनकपुरमा आयोजित २२ दलको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सात प्रदेशको प्रस्ताव ल्याएर प्रक्रियामा जाने धम्की दिइरहेका कांग्रेस र एमालेले गल्ती नसच्याए मधेसी जनतालाई आफ्नो सरकार आफैं गठन गर्ने अधिकार प्राप्त हुने बताए ।
मधेसी, जनजाति र माओवादीलाई वेवास्ता गरेर संविधान जारी गरे मान्य नहुने उनले बताए । ‘कांग्रेस र एमाले सच्चिएनन् भने तपाई मधेसी जनता पनि आफ्नो सरकार आफैं बनाउन स्वतन्त्र हुनुहन्छ’ प्रचण्डले सभामा भने,मधेसको मात्रै होइन, नेपालकै भाग्य र भविश्य के हुन्छ भन्ने अब मधेसी जनताको हातमा आएको छ ।’
सभामा बोल्दै प्रचण्डले मधेसवादी दललाई धोका नदिन आग्रह गरेका छन् । ‘म दर्होसँग खुट्टा टेक्ने मान्छे हो’, प्रचण्डले भने, ‘ तपार्इँहरुले बीचबाटोमा पुगेर धोका नदिनुहोला । ’
अन्तरिम संविधानको धारा – १३८ मा राज्य पुनसंरचना गर्दा स्वायत्त मधेस प्रदेश हुने लेखिएको भन्दै प्रचण्डले कांग्रेस र एमालेको सात प्रदेशको प्रस्तावले अन्तरिम संविधान च्यातेको आरोप लगाए ।
कांग्रेस र एमालेले आफ्नो प्रस्ताव सच्याएनन् भने मधेसी जनताले आफ्नो सरकार आफैं बनाउन पाउने र संयुक्त राष्ट्र संघ, भारत, चीन, युरोप र अमेरिकाले २२ दललाई नै समर्थन गर्नुपर्ने प्रचण्डले दाबी गरे ।
कांग्रेस र एमालेलाई प्रचण्डले सामन्तवाद र राजतन्त्रको पुच्छर एवं विषालु सर्पको संज्ञा दिए । ‘कांग्रेस र एमाले विषालु सर्पका पुच्छर हुन्, सर्पको टाउको किचिइसकेको छ, पुच्छर मात्रै हल्लिँदैछ, उनले भने- ‘पुच्छर र टाउको जोडियो फेरि सर्प बाँच्न सक्छ, त्यसैले अब पुच्छर पनि थिच्नुपर्छ ।’