एमाओवादी बखेडा खडा गर्दैछ : देउवा

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते १२:१६ मा प्रकाशित

sher bahadurकाठमाण्डु, २२ कात्तिक– कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादी संविधानसभाबाट बनाउन नदिने खेलमा लागेको आरोप लगाएका छन् ।

कांग्रेस गुल्मी– काठमाण्डु सम्पर्क समितिले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा देउवाले एमाओवादी संविधान बनाउने भन्दा संविधान बन्न नदिने बखेडमा लागेको आरोप लगाएका हुन् । ‘पहिले आफू ठूलो दल हुँदा माओवादीले संविधान बनाउन सकेन’ देउवाले भने– अहिले हामीले बनाउन खोज्दा माओवादी सडकबाट संविधान बनाउने भनेर बखेडा खडा गर्दैछ । यसरी संविधान बन्दैन ।’

संविधानसभाका लागि आन्दोलन गरेको माओवादी पार्टीले ‘संविधान सभाबाट बाहिरबाट संविधान बनाउन खोज्नु गम्भीर शंकाको विषय’ भएको देउवाको भनाइ छ । देउवाले नेपाली काँग्रेस र एमालेले ल्याएको प्रस्ताव माओवादीले मान्नैपर्छ भन्ने नरहेको भन्दै आफ्नो प्रस्ताव संविधानसभामा पेश गर्न एमाओवादीलाई पनि आग्रह गरे । ‘हाम्रो प्रस्ताव मान्नुपर्छ भन्ने छैन, उहाँहरुले पनि आफ्नो प्रस्ताव राख्न सक्नुहुन्छ ।, सबै विषय संविधानसभामा छलफल गरौं’ देउवाले भने ‘संविधान सडकबाट होइन संविधानसभाबाट बनाउने हो ।’
माघ ८ गते संविधान जारी गर्ने हो भने ढिलो भइसकेको देउवाको टिप्पणी छ । संविधानसभामा अरु दलका प्रस्तावमा पनि छलफल गरेर सबैको भावना समेटेर संविधान जारी गर्न सकिने देउवाले बताए ।

संविधानका विवादित विषय राज्य पुनर्संरचना र शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतमा नेपाली कांग्रेस र एमालेले ल्याएको साझा प्रस्ताव एकीकृत नेकपा माओवादी लगायतका दलले संविधानसभामा पेश गर्न नदिने अडान लिइरहेका बेला देउवाले एकीकृत माओवादीको आलोचना गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us