काठमाण्डु, २२ कात्तिक – समसामयिक राजनीतिका सवालमा फरक–फरक धारमा देखिएका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र एकीकृत माओवादीका अध्यक्षहरुले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको समीक्षा एउटै टेबलबाट गरेका छन् ।
एमालेको मुखपत्र ‘नवयुग’ मासिकको प्रकासोन्मुख अन्तर्राष्ट्रिय कम्युनिस्ट विशेषाङ्कका लागि सो पार्टीको संसदीय दलको कार्यालयमा शनिबार आयोजित ‘राउन्ड टेबल’ कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व परिवेशलाई आँकलन गरेर नेपालका कम्युनिस्ट शक्तिबीचको सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
सो पत्रिकाका सम्पादक तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले भने, ‘दुवै नेताबीच अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे समीक्षा गर्दा जोड र कोणमा केही फरक होला तर कम्युनिस्ट आन्दोलनको भविष्य सुनिश्चित गर्न सहकार्य गर्नुपर्नेमा समानता देखिएको छ ।’ दुवै अध्यक्षबीच डेढ घन्टा लामो संवाद भएको थियो । साथै भविश्यको साझा गन्तव्य खोजी गर्नमा वैचारिक बहसमा सहभागी रहनेमा सहमत देखिएका छन् ।
नयाँ संविधान निर्माणका विवादित अन्तरवस्तुमा आपसमा असहमत देखिएका एमाले र एमाओवादीका अध्यक्षहरु यस प्रकारको संवादमा पहिलोपटक जुटेका हुन् । नेपाली काँग्रेस र एमालले संयुक्त रुपमा प्रस्तुत गरेको सङ्घीयता, शासकीय स्वरुपलगायतका विषयमा एमाओवादी र मधेसवादी दलले असहमति जनाएपछि संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले निर्णय गर्न सकेको छैन ।