कसैको धम्कीबाट संंविधान निर्माण प्रक्रिया रोकिदैन : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते ६:२९ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणबाटै राजनीतिक अस्थिरताको अन्त्य हुने बताएका छन् ।

Sushil-Koiralaकाँग्रेस  केन्द्रीय कार्यालयमा पार्टीका केन्द्रीय कार्यसमिति पूर्वसदस्य एवम् पूर्वमन्त्री सिद्धराज ओझाको श्रद्धाञ्जलि सभामा उनले निर्धारित समयमा संविधान जारी गरी देशलाई समृद्धिको मार्गमा लैजानुपर्ने बताए ।

संविधान निर्माणका लागि दलहरुबीच अधिकतम सहमतिको प्रयास भएको जानकारी गराउँदै काँग्रेसका सभापति एवम् प्रधानमन्त्री कोइरालाले कसैको डर धम्कीबाट संविधान निर्माण प्रक्रिया नरोकिने उल्लेख गरे ।

सहमति तथा सहकार्यका माध्यमबाट नेपालमा शान्ति प्रक्रियाको थालनी भएकामा जोड दिँदै उहाँले आफ्नातर्फबाट त्यही कुरालाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो ।

इमान्दारिता र निष्ठाको राजनीतिलाई आफ्नो जीवनमा प्राथमिकता दिएका स्वर्गीय ओझाको जीवनीबाट नेताकार्यकर्ताले धेरै पाठ सिक्न आग्रह गरे ।

वरिष्ठ नेता शेरबहादुर देउवाले सिद्धराज ओझाले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि गरेको सङ्घर्ष नेपालको इतिहासमा जीवन्त रहिरहने बताए ।

उपसभापति रामचन्द्र पौडेलले नेपाली जनताको भावनाअनुरुप देशलाई लोकतान्त्रिक संविधान दिएर समृद्धिको मार्गमा अघि बढाउनुपर्र्ने धारणा राखे ।

काँग्रेस डोटी जिल्ला सभापति वीरबहादुर बलायर, काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारी र पारश ओझाले प्रत्येक राजनीतिकर्मीका लागि स्वर्गीय ओझा प्रेरणादायी व्यक्तित्व भएको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us