चितवनबाट विप्लवको चेतावनी, ‘माओवादीहरुलाई नहेप, सबै मिलेर हतियार उठाउँछौं’

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते १२:०४ मा प्रकाशित

biplapकाठमाण्डु, २२ कात्तिक– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले सत्तासीन दलले कम्युनिष्ट शक्तिलाई हेप्ने काम गरिरहेको भन्दै कुनै पनि दिन माओवादीहरु एक हुन सक्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघ चितवनले भरतपुरमा शनिबार गरेको पत्रकार भेटघाटमा सचिव चन्दले सत्ता पक्षले निषेशको राजनीति नत्यागे विस्फोटक अवस्था आउन सक्ने चेतावनी दिए ।

चन्दले माओवादीहरुलाई नहेप्न आग्रह गर्दै हेप्ने क्रम बढेर गए अत्याधुनिक हतियारसहितको विद्रोह हुने चेतावनी दिए । ‘सत्ता पक्षले माओवादीहरुलाई अति नै हेप्ने काम गरेको छ’, चन्दले भने, ‘यस्तो हेपाहा प्रवृत्ति जारी रहे सबै माओवादी मिलेर अत्याधुनिक विद्रोह गर्छौं, त्यसलाई रोक्ने साहस कसैसँग छैन ।’ सञ्चारकर्मीको एक जिज्ञाशामा उनले केही व्यक्ति बाहिर रहे पनि टुक्राटुक्रामा विभाजित माओवादी आन्दोलन एक हुने दाबी गरे ।

चन्दले घुमाउरो शैलीमा पार्टी विभाजन गर्नु गल्ती भएको स्वीकार गरे । ‘विगतमा हामीबाट पनि केही गल्ती हुन गएका छन्’, चन्दले भने, ‘ सबैले गल्ती स्वीकार गरेर माओवादीहरु एक हुने परिस्थिति बन्दै गएको छ, केही व्यक्ति भने बाहिर रहन सक्छन् ।’ यद्यपि उनले व्यक्ति किटान गरेनन् । उनले हतियार उठाउने वा नउठाउने भन्ने कुरा ठूलो विषय नभएको बताए ।

हतियार उठाउने वा नउठाउने विषय परिस्थितिमा निर्भर गर्ने भन्दै चन्दले सेता (राज्यको) हतियारको दबाबमा मात्र बस्नु पर्छ भन्ने केही नरहेको टिप्पणी गरे । ‘हतियार उठाउने कि नउठाउने भन्ने कुरा ठूलो होइन’, चन्दले भने, ‘मानसिक रुपमा हतियार उठाउने कुरा भयो भने कसैले रोक्न सक्दैन, त्यो परिस्थितिमा पर पर्ने कुरा हो ।’

विकास खोजिरहेका जनताले हतियार उठाउँदा साथ देलान त ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा उनले भने, ‘यी झिना मसिना कुरा हुन् । विकास प्रक्रियामा हुँदै जान्छ । जनताले लड्नुपर्छ भनेपछि कसैले रोक्न सक्दैन । क्रान्ति र परिवर्तनमा नेपाली जनताले सधैं साथ दिन्छ । जनता कहिल्यै थाक्दैनन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us