काठमाण्डु, २१ कात्तिक– प्रधानमन्त्री सुशील कोइरालाले मुगुका असिना पीडितलाई राहत र असिनाबाट पुगेको खेतिबालीको क्षतिबापत रकम उपलब्ध गराउन निर्देशन दिएका छन् ।
ज्ञापनपत्र बुझाउन शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको मुगका सर्वदलीय प्रतिनिधि मण्डलको माग सुनेपछि प्रधानमन्त्रीले अर्थमन्त्री रामशरण महतलाई फोन गरी उदारतापूर्वक पीडितहरुको मागमा ध्यान दिन निर्देशन दिएका हुन् ।
प्रतिनिधि मण्डलले गत कात्तिक ८ गते परेको असिना पानीले मुगुका श्रीकोट, सेरी, गम्था,कोटडाँडा,कार्कीडाडा,श्रीनगर खमाले गाविसमा पाकिसकेको धान,कोदो, मकै,सिमी भटभास लगायतका अन्न र तरकारी बालीको नष्ट गरी झण्डै १३ करोड ५० लाख ६५ हजार बराबरको क्षति भएको जानकारी गराएको थियो ।
टोलीले खत्याड भेगका चार गाविसलाई पायक पर्ने श्रीकोट खाद्य डिपो पुनस्थापना गरी सञ्चालनमा ल्याउन, ती गाविसमा खाद्यान्न हेलिकोप्टरमा ढुवानी गर्ने व्यवस्था मिलाउन, खाद्यान्न खरीद र ढुवानीमा अनुदान दिन र अति प्रभावित क्षेत्रलाई क्षतिग्रस्त क्षेत्र घोषणा गर्ने माग राखेको थियो ।