नारायणकाजी चिसिएको दलीय सम्बन्ध सुधार्न सक्रिय

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते १३:५६ मा प्रकाशित

narayankaji shresthaकाठमाण्डु, २१ कात्तिक– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दलहरुबीच चिसिएको सम्बन्ध सुधार्न र पुन: संवादको वातावरण बनाउन सक्रिय भएका छन् ।
श्रेष्ठले दलहरुबीच सम्बन्ध सुधार गरेर संवादको वातावरण निर्माणका लागि भन्दै शुक्रबार सत्तारुढ काँग्रेस–एमालेका शीर्ष नेतासँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

उनले काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र कृष्ण सिटौला, एमाले अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाल, तथा उपाध्यक्ष एवम् उपप्रधान र गृहमन्त्री बामदेव गौतमसँग भेटेका हुन् ।
श्रेष्ठले ओलीलाई बालकोट र नेपाललाई कोटेश्वरस्थित निवास र गौतमलाई पुलचोकस्थित मन्त्री क्वार्टरमा भेटेका थिए । यस्तै देउवा र सिटौलालाई बानेश्वरमा भेटेको उनका एक सहयोगीले बताए । श्रेष्ठले भाइरल ज्वरोले थलिएका आफ्नै पार्टीका नेता एवम् संवैधानिक समिति सभापति बाबुराम भट्टराईसँग पनि भेटे ।

भेटमा आफूले सहमतिमै संविधान जारी गर्नुको विकल्प नरहेकाले धमिलिएको वातावरण सुधारेर छलफलमा जुट्नुपर्नेमा जोड दिएको श्रेष्ठले बताए । ‘दलहरुबीचमा देखा परेको गतिरोध तोडेर सहमतिमै संविधान बन्ने सुनिश्चितताका लागि नयाँ शिराबाट छलफल थाल्नुपर्छ’, श्रेष्ठले भने, ‘संविधान जारी गर्ने सहमतिभन्दा अर्को बाटो हुनै सक्दैन ।’

उनले सहमति भन्ने तर सात प्रदेशको संयुक्त अवधारणा संवैधानिक समितिमार्फत संविधानसभामा लैजानुपर्ने काँग्रेस–एमाले अडान ठीक नभएको आफूले नेताहरुलाई बताएको उल्लेख गरे ।

श्रेष्ठले प्रमुख दलबीच जारी अविश्वास अन्त्य भए संवैधानिक समितिमा देखिएको गतिरोध हट्ने विश्वास व्यक्त गरे । आफ्नो भेटपछि दलहरुबीच सकारात्मक छलफलको वातावरण भनेको तर सहमतिको ग्यारेण्टी भने नभएको श्रेष्ठले बताए ।
श्रेष्ठले शुक्रबार आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस उपसभापति रामचन्द्र पौडेलसहित केही साना दलका नेतासँग भेट्ने तयारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us