
विराटनगर, २१ कात्तिक – ७० वर्ष नाघेका वृद्धवृद्धालाई भाडामा ५० प्रतिशत छुट दिने घोषणासहित चन्द्रसूर्य थ्रिडी डिलक्स बस सेवाले शुक्रबार आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ ।
विराटनगर–काठमाण्डु तथा धरान–काठमाण्डु मार्गमा चार वटा बसबाट विगत एक वर्षदेखि यात्रुलाई सेवा दिँदै आएको उक्त कम्पनीले यात्रुलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गर्नु नै आफ्नो मुख्य लक्ष्य रहेको जनाएको छ ।
सो अवसरमा दिवा तथा रात्रि बस सङ्घका अध्यक्ष टीकाप्रसाद लिम्बूले राजस्व सङ्कलन मात्र होइन दुर्घटना न्यून गर्न पनि राज्यले जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
बसका सञ्चालक रवि कँडेलले आगामी दिनमा यात्रुलाई थप सुविधा दिन कम्पनीले ध्यान दिने जानकारी दिए ।
कार्यक्रममा सुरक्षित रुपमा बस सञ्चालन गर्ने चालक ठाकुरप्रसाद पौडेललाई सम्मान गरिएको थियो । उक्त बस कम्पनीले विगत एक वर्षको अवधिमा करिब ४० हजार यात्रुलाई सेवा प्रदान गरेको थियो । रासस