विगतबाट दलहरुले पाठ सिक्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते १०:१६ मा प्रकाशित

चितवन, २१ कात्तिक – उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले भएसम्म सहमति नभए प्रक्रियामा गएर भए पनि माघ ८ गते संविधान जारी गरिने बताएका छन् ।

prakash man singनेपाल प्रेस युनियन चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दलहरुबीचमा यसअघि नै यस विषयमा सहमति भइसकेको बताए । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलले माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान जारी गर्न प्रतिबद्धता जनाइसकेको बताउँदै उनले विषयगत समितिहरुको कार्यतालिका घटबढ भए पनि संविधान जारी गर्ने मिति माघ ८ कट्न नहुने उल्लेख गरे ।

सहमतिको प्रयास निरन्तर रुपमा भइरहेको भन्दै उपप्रधानमन्त्री सिंहले सहमति नभए दुई तिहाइ बहुमतबाट प्रक्रियागत रुपमा संविधान जारी गरिने दाबी गरे ।

पहिलो संविधानसभामा पनि सहमतिको प्रयास गर्ने क्रममा म्याद थप्दाथप्दै पनि संविधान बन्न नसकेको विगतबाट दलहरुले पाठ सिक्नुपर्ने उनले आग्रह गरे ।

नेपाली काँग्रेसभित्र केहीले हिन्दू राज्यको कुरा उठाएका विषयमा सोधिएको प्रश्नमा उनले पार्टीको आधिकारिक विषय नीति र कार्यक्रममा जे छ त्यही हुने बताए । एक फरक प्रसङ्गमा नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका सिंहले यही कात्तिक ३० गते नेवि सङ्घको महाधिवेशन हुने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us