दलालले बालश्रम बेच्न पाएनन् , प्रहरीद्वारा १० बालबालिकाको उद्धार

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते ९:०५ मा प्रकाशित

उदयपुर , २१ कात्तिक – उदयपुर जिल्लाको पश्चिमी पहाडी क्षेत्रका रुपाटार, ओख्ले गाउँबाट बालश्रमका लागि केही दलालले दशजना बालबालिकालाई लुकाईछिपाइ राजधानी काठमाण्डुतर्फ लाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरी बालबालिकाको उद्धार गरेको छ ।

child laborगत बुधबार जिल्लाको पश्चिमी पहाडी गाविस रुपाटार र ओख्लेबाट कटारी हुँदै काठमाण्डु लाँदै गरेको बालबालिकालाई प्रहरीले दलालसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।

काठमाण्डुमा इँटा बोक्नका लागि लगिएका बालबालिकामा ओख्ले गाविसका १२ वर्षीय रमेश सुनार, १२ वर्षीय सुजाता सुनार, १४ वर्षीय मणिपाल सुनार, १४ वर्षीय हीरा सुनार, १३ वर्षीय खिलाबहादुर सुनार, १४ वर्षीय दिनेश सुनार र रुपाटार– ५ का १४ वर्षीय सुकबहादुर माझी रहेका छन् ।

बालबालिका राजधानी लाने दलालमा रुपाटारका २५ वर्षीय सन्तोष विक र अर्का शर्मिला माझी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।

प्रहरीले उद्धार गरेको दशजना बालबालिकालाई हिजो सम्बन्धित बालबालिकाको अभिभावक बोलाएर जिम्मा लगाइएको कुरा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डिएसपी) सरोज पौडेलले बताए ।

यता बालबालिका बालश्रमका लागि राजधानी लाने दलाल माझी र विकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि आगामी दिनमा यस्तो कार्य नगर्ने शर्तमा केही दण्ड जरिवानासमेत गरेर छाडिएको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।

उदयपुरको पश्चिमी क्षेत्रको पहाडी इलाकाबाट बर्सेनि सयौँ बालबालिका प्रहरीको आँखा छलेर  काठमाण्डुका इँटाभट्टा तथा होटलमा बालश्रमका लागि लाने गरिएका छन् ।

यस्तै गाउँघरका सोझा बालबालिकालाई दलालले ठूलो सङ्ख्यामा भारतका विभिन्न स्थानमा सर्कस खेल्न तथा होटलमा काम गर्नसमेत लाने गरेको पाइएको जिल्ला बालकल्याण समिति उदयपुरले बताएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us