काठमाण्डु, २१ कात्तिक – आगामी मंसिर १० गतेदेखि नेपाल कायाक क्लबको आयोजनामा चौथो हिमालयन ह्वाईट वाटर फेस्टिवल हुने भएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल कायाक क्लबले हिमनदीहरुको संरक्षण गर्ने तथा यूवा नेपाली कायाकरहरुलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले उक्त फेस्टिवलको आयोजना गरेको जानकारी दिएको छ । मंसिर १० गतेदेखि १३ गतेसम्म चल्ने उक्त फेस्टिवलको उद्घाटन भने चितवन त्रिशुलीको फिस्लिङ्मा हुने पनि क्लबले जानकारी दिएको छ ।
क्लबका अध्यक्ष अनुप गुरुङ्ले आफूहरुले यो महोत्सवलाई एशियाकै सबैभन्दा ठूलो महोत्सवको रुपमा सञ्चालन गर्न लागेको जानकारी दिँदै महोत्सवमा स्लालम, फ्रि–स्टाईल, बोटर क्रस, डाउन रिभर रेस, रयाफ्ट च्याम्पियनसिपका साथसाथै लाईभ म्यूजिक, गेम्स, पुरुस्कार लगायत विभिन्न कार्यक्रमहरु राखेको बताए ।
गुरुङ्ले भने–‘यो महोत्सवले मुलुकको गरिमालाई उँचो बनाउने विश्वास हामीले लिएका छौं । यहाँ विभिन्न अन्र्तराष्ट्रिय खेलाडीहरुले समेत सहभागी जनाउँदैछन् साथै यसले सबैलाई हिमनदीको महत्ववारे स्पष्ट हुन पनि मद्धत पुग्नेछ ।’
त्यस्तै क्लबका सदस्य विकास क्षेत्रीले उक्त प्रतियोगिताको प्रमुख प्रर्वद्धक नेपाल पर्यटन बोर्ड तथा अन्र्तराष्ट्रिय र्याफ्टिङ् महासंघले सहयोग गर्ने जानकारी दिएका छन् ।
क्षेत्रीका अनुसार फेस्टिवलको मिडिया पार्टनरमा भने कायाकसेसन एवम हिमालय टेलिभिजन रहेका छन् ।