उपल्लो मुस्ताङमा औषधिको हाहाकार , पर्यटक बीच बाटोबाटै फर्किए

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते ७:२६ मा प्रकाशित

म्याग्दी , २१ कात्तिक – उपल्लो मुस्ताङको अवलोकनमा जाने पर्यटक बिरामी हुँदा आवश्यक पर्ने औषधि अभाव हुने गरेको छ ।

उपल्लो मुस्ताङको छोसेर, छोन्हुप र सुरर्खाङ गाविसमा उपस्वास्थ्य चौकी स्थापना भएको लामो समय बितिसक्दासमेत आवश्यक पर्ने पूर्वाधार र औषधिको अभाव हुँदा स्थानीयसँगै पर्यटकलाई समस्या हुने गरेको हो ।

उच्च भेगको भ्रमणका लागि जाने पर्यटक प्रत्येक वर्ष अक्सिजन अभावका कारण समस्यामा पर्ने गरेको लोमान्थाङ स्वास्थ्य चौकीले जनाएको छ ।

सदरमुकाम जोमसोम, मनाङ हुँदै पर्यटक उपल्लो मुस्ताङ जाने गर्दछन् । लेक लागेर बिरामी हुने पर्यटकलाई आवश्यक पर्ने औषधि नहुँदा पर्यटक बीच बाटोबाटै फर्कने गरेका छन् ।

समुद्री सतहदेखि करिब तीन हजार ७२० मिटर उचाइमा रहेको लोमान्थाङ गाविसमा बर्सेनि हजाराँै पर्यटक भ्रमणका लागि जाने गरेका पर्यटकमा बढी लेक लाग्ने समस्यादेखिने गरेको स्थानीय ग्याल्टुङ गुरुङले बताए ।

लोमान्थाङ स्वास्थ्य चौकीमा दैनिक १५ देखि २० जनासम्म आन्तरिक तथा बाह्य पर्यटक चिसोका कारण बिरामी भएर आउने गरेका छन् ।

नियमति रुपमा अक्सिजन र चिसोबाट लाग्ने औषधि आपूर्ति गर्न नसक्दा सामान्य पर्यटकलाई समेत जिल्ला अस्पताल मुस्ताङमा रिफर गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीले बताएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us