अस्थायी शिक्षकले सरकारी विद्यालय बन्द गराए

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते ७:२२ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक – आफूसँग विगतमा गरिएका सहमति कार्यान्वयन नभएको भन्दै अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले शुक्रबार काठमाण्डु उपत्यकाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गराएको छ ।

माग पूरा गराउन अनशनमा रहेका आफ्ना शिक्षकलाई प्रहरीले दुव्र्यबहार गरी शान्तिवाटिकाबाट हटाएको विरोधमा आज विद्यालय बन्दको कार्यक्रम गरिएको समितिले जनाएको छ । हाल उपत्यकामा करिव आठसय सरकारी विद्यालय छन् ।

विद्यालय बन्दको कार्यक्रमबारे पूर्वजानकारी नपाएका कतिपय सरकारी विद्यालयले पठनपाठनलाई नियमित गराएका छन् । समितिका अध्यक्ष निरेन्द्र कुँवरले आफूहरूले जबर्जस्ती बन्द नगराएको स्पष्ट गर्दै आन्दोलनमा दबाब सिर्जना गर्न यस्तो कार्यक्रम गर्न बाध्य भएको बताए ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने र सफल नहुनेलाई राहत सुविधासहित सम्मानजनक अवकास दिलाउन सरकार र समितिबीच पटक पटक सहमति भएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us