दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते ५:२१ मा प्रकाशित

लहान, २१ कात्तिक– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहा र सप्तरीको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बक्धुवा–७ मा ना ५ ख २५२५ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्री सप्तरीको जण्डौल–३ निवासी ४५ वर्षीय घनश्याम चौधरीको गएराति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय महुलीले नियन्त्रणमा लिएको छ । यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–१ स्थित गोलचौकमा गएराति मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.४२ प ७९८ नम्बरको मोटरसाइकल राति ९ बजे अनियन्त्रित भई ठोक्किँदा मोटरसाइकल चालक सिरहाको मौवहा–३ निवासी २६ वर्षीय इन्द्रदेव चौधरी र पछाडि सवार सोही ठाउँका २५ वर्षीय शिवकुमार चौधरी गम्भीर घाइते भएका हुन् ।

घाइते दुवैको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us