पूर्वसभासद्ले खुमबहादुलाई भनिन्– ‘होस गर्नुस्, बूढानीलकण्ठझैं ढल्नुहोला !’

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते १२:३० मा प्रकाशित

काठमाण्डु, २० कात्तिक – हिन्दु राज्य स्थापनाका लागि कांग्रेस नेता खुमबहादुर खड्काको नेतृत्वमा गरिएको घोषणा सभामा कांग्रेसकै नेताहरुले खुमबहादुरलाई चेतावनी दिए । पूर्वसभासद् कृष्णा अमात्यले ‘खबरदार ! खुमबहादुर खड्का, पार्टीभित्रका अरु नेता–कार्यकर्तासँग सल्लाह नै नगरी अघि बढ्न खोज्दा बूढानीलकण्ठझैं उत्तानो पर्नुहोला’ भन्दा हलमा हुटिङ र ताली बजेको थियो ।
बिहीबार कमलादीमा भएको कार्यक्रममा शुभकामना मन्तव्य दिन बोलाइएकी अमात्यले खुमबहादुरले कांग्रेस पार्टीभित्रै हिन्दु राज्य स्थापनाका लागि अघिल्लो संविधान सभादेखि नै बोल्दै र लड्दै आएका नेता तथा अगुवासँग सल्लाह नगरेको, आफूहरुलाई बेवास्ता गरेको, राजनीति गर्नका लागि हिजो धर्मनिरपेक्षताकै पक्षमा बोल्दै हिंडेकाहरुलाई पनि मञ्च दिएको भन्दै चर्को आलोचना गरेकी थिइन् ।

Khum-Bahadur-Khadka
अमात्यले बोल्दा पटक पटक हलमा ताली बजेको थियो । ‘अघिल्लो संविधानमा धर्मनिरपेक्षताभन्दा धार्मिक स्वतन्त्रता भन्नु राम्रो हुन्छ र देशलाई धर्म सापेक्ष बनाउनुपर्छ भनेर मैले बोल्दा मलाई राज्यको पनि कहीं धर्म हुन्छ भन्दै खिसी गर्ने पुष्पा भुसाल आज हिन्दू राज्य स्थापनाको सभामा मञ्चमा आइपुग्नुभएछ,’ अमात्यले भनिन्, ‘म उहाँको विरोध गर्दिनँ, उहाँजस्ता मान्छेलाई पनि ल्याउनुभएकोमा खुमबहादुर दाइलाई धन्यवाद छ । तर आफ्नै पार्टीभित्र हिजोदेखि लडिरहेका साथीहरुसँग एकपटक पनि सल्लाह नगरी, हल्ला पनि नगरी तपाईंले यो के को राजनीति गर्नुभएको हो ? एक्लै राजनीति गर्न खोज्दा बूढानीलकण्ठजस्तो उत्तानो पर्नुहोला । ख्याल गर्नुहोस् ।’
उनले पार्टीभित्र डा. रामचन्द्र अधिकारी, शंकर पाण्डे, अर्जुन जोशी लगायत नेताले पार्टीभित्रै आवाज उठाउँदै आएको भन्दै लक्ष्मण घिमिरे पनि अघिल्लो संविधान सभामा आफूहरुका कुरा सुनेर मुसुक्क हाँसेको तर आज चर्को कुरा गर्न आएकोमा आलोचना गरिन् ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता खड्काले आउने संविधानमा नेपाललाई हिन्दु राज्य घोषणा नगरे जनताले आन्दोलन गर्ने चेतावनी दिए । उनले एमाओवादी अध्यक्ष प्रचण्डले विदेशीको इशारामा देश टुक्राउन खोजेको आरोप समेत लगाए ।
‘जातीय संघीयतामा लगेर देश टुक्राउन खोजिएको छ,’ उनले भने, ‘यसमा प्रचण्डको हात छ । आफ्नै आँखा अगाडि देश टुक्रिरहेको कसरी हेर्न सक्छौं ।’ हिन्दू राज्य स्थापना नभए देश २० वर्षभित्र धार्मिक युद्धमा जाने चेतावनी दिंदै उनले कांग्रेसलाई धर्मनिरपेक्षतामा जाने निर्णय गरेको गल्ती सच्याउन पनि आफूहरुको अभियान आवश्यक भएको बताए ।
कार्यक्रममा पूर्वमन्त्री चिरञ्जीवी वाग्ले, पूर्वसभामुख तारानाथ रानाभाट, कांग्रेस केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, सभासद् शंकर भण्डारी, पूर्वसभासद् मीठाराम विश्वकर्मा, पत्रकार देवप्रकाश त्रिपाठीले पनि समर्थनमा बोलेका थिए ।
केन्द्रीय सदस्य तथा सभासद् अर्जुन जोशी भने कार्यक्रमको बीचमा आएर बीचैमा उठेर हिंडेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us