काँग्रेस –एमालेको प्रस्तावले देश मुठभेडमा जान्छ : महासङ्घ

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते १०:५१ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक – आदिवासी–जातीय–क्षेत्रीय महासङ्घले काँग्रेस र एमाले लगायतका दलले प्रस्तुत गरेको सङ्घीयता, निर्वाचन प्रणाली तथा व्यवस्थापिकाको संरचनाको प्रस्तावमा आफ्नो असहमति रहेको जनाएको छ ।

महासङ्घका महासचिव सुरेश आलेमगरले बिहिबार एक विज्ञप्ति जारी गर्दै उक्त प्रस्तावले मुलुकमा आदिवासी÷जनजाति, दलित, मधेसी, मुस्लिम, महिलालगायतका जाति एवम् समुदायहरूले सदियौँदेखि झेल्दै आइरहेका उत्पीडन, शोषणलाई निरन्तरता दिने र उनीहरुले गरेका आन्दोलन र विभिन्न समयमा गरेका सहमति तथा सम्झौताहरूलाई पूरै बेवास्ता गरेको बताएको छ ।

सङ्घीय एकाइहरूको नामकरण एकल जातीय पहिचानका आधारमा हुनुपर्ने, अग्राधिकार, गणतन्त्र, धर्मनिरपेक्षता, जातीय स्वायत्तता र स्वशासन, राज्यसत्ताका सबै अङ्गहरूमा जातीय एवम् लैङ्गिक जनसङ्ख्याका आधारमा समावेशीता र समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने माग महासङ्घले अघिसारेको छ ।

प्रस्तावले समस्यालाई समाधान नगरी देशलाई मुठभेडको दिशातिर लैजाने भन्दै उनले त्यसतर्फ सचेत हुन आग्रह पनि गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us