काठमाण्डु , २० कात्तिक – सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले सत्तापक्षले अघि सारेको प्रस्ताव सहमतिलाई लत्याई विधी प्रक्रिया बाहिरबाट आएको आरोप लगाएका छन् ।
कर्णले सत्तापक्षको प्रस्ताव जनआन्दोलन, सशस्त्र युद्ध, मधेश र जनजाती आन्दोलनका उपलब्धिलाई संस्थागत हुन नदिने चाल भएकाले संविधान नबन्नेसमेत ठोकुवा गरे ।
रिपोर्टर्स क्लबले गरेको साक्षात्कार कार्यक्रममा कर्णले सत्तारुढ दलहरुले गणितीय खेलमा संविधान त के जवरजस्ती मस्यौदा मात्रै बनाउन खोजेपनि आफूहरु संविधानसभा छाडेर सडकबाट संविधान घोषणा गर्न लाग्ने चेतावनी दिए ।
उनले सत्तारुढ दलको प्रस्तावलाई संवैधानिक राजनीतिक सम्वाद तथा सहमती समितिले ग्रहण गरेर संविधानसभामा पेश नगर्ने स्पष्ट पारे ।
एकीकृत माओवादी प्रवक्ता दिनानाथ शर्माले आफुहरुले पूर्ण रुपमा सहमति नखोजी मुख्य विषयका अन्र्तबस्तुमा मात्रै सहमति खोजेको स्पष्ट पार्दै सहमति सापेक्ष रुपमा हुनुपर्ने बताए ।
संघीयताको संख्या आफूहरुको लागि ठूलो नभएको स्पष्ट पार्दै उनले अधिकार र पहिचान आफूहरुको लागि ठूलो भएको समेत जिकिर गरे ।
उनले सत्तारुढ दलद्धय काँग्रेस र एमालेसहितका दलहरुलाई प्रतिपक्षलाई सिध्याएर राज गर्ने राजाबादी सोचबाट माथि उठ्न समेत सुझाव दिए ।
दलित जनजाती पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले संविधान बन्ने सम्भावना बढेपछि एमाओवादी र मधेसवादी संविधानसभा छाडेर भागेको आरोप लगाउँदै भने–‘संविधानसभाबाट संविधान नबनाई भागेर सडकबाट संविधान घोषणा गर्ने भनि कस्लाई धम्क्याएको हो मैले त बुझ्न सकेको छैन ।’
सत्तारुढ दलहरुको प्रस्ताव ९९ प्रतिशत जनताको भावना भएको भन्दै त्यसमा समितिमा छलफल गरेर संविधानसभामा पेश गर्नु पर्ने बताए ।