पूर्वनिर्धारित समयमा नै संविधान जारी गर्न युरोपेली सङ्घको आग्रह

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते ८:१० मा प्रकाशित

काठमाण्डु, २० कात्तिक – युरोपेली सङ्घ (इयू)मा आबद्ध मुलुकका साथै स्विटजरल्यान्ड र नर्वेका नेपालस्थित राजदूतहरूले पूर्वनिर्धारित समयमा नै संविधान जारी गर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन् ।

eu-flagसंविधानका विवादित विषयमा विभिन्न दलहरूसँग सहमति कायम गर्न राजनीतिक नेतृत्वबाट भएका प्रयासहरूको सराहना गर्दै उनीहरुले माघ ८ मा संविधान जारी गर्ने समयसीमा नकटाउन सम्पूर्ण राजनीतिक पार्टीसँग अनुरोध गरेका छन् ।

माघ ८ मा संविधान जारी गर्न नेतृत्व, उदारता र तत्परताका साथै सबै पक्षबीच सहमति हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

‘नेपालको संविधान कस्तो हुनुपर्छ हामीले भन्ने होइन, त्यो संविधानसभाको काम हो । नयाँ संविधान नै शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने महत्वपूर्ण पाटो भएकाले त्यसलाई ख्याल गर्न हामी सम्बद्ध सबै पक्षलाई हौस्याउँछौँ’ अब बन्ने संविधानका मननीय पक्ष औँल्याउँदै यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जारी गरेको वक्तव्यमा भनिएको छ ।

राजनीतिक दलहरूबीच मतैक्यता कायम गर्न क्रियाशील रहेका बेला नयाँ संविधानमा बालबालिकाको अधिकारमा समान पहुँच र आधारभूत मानवअधिकार तथा नागरिक अधिकार सुनिश्चित गराउन सम्बद्ध सबै पक्षलाई इयूमा आबद्ध देशका राजदूतहरूले विशेष जोड दिएका छन् ।
उनीहरुले वक्तव्यमा भनेका छन् , ‘नेपालका पुराना मित्रका नाताले नयाँ वर्षमा लोकतान्त्रिक एवम् समावेशी संविधानको स्वागत गर्न पाउनेमा धेरै आशावादी छौँ ।’ रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us