विराटनगर, २० कात्तिक – मोरङ जिल्लास्थित इलाका प्रहरी कार्यालय पथरीको ५० मिटर दूरीमा एउटा कुकर बम विस्फोट गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाका प्रहरी कार्यालय पथरीको भवनको उत्तर ५० मिटर दूरीमा (एनसिभी) लेखिएको कुकर बम बुधबार राति विस्फोट भएको हो ।
तार जडित ब्याट्रिबाट विस्फोट गराइएको कुकर बमबाट कुनै मानवीय एवम् भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।
विस्फोटन भएको स्थानमा १५० मिटर तार, ‘साझा लिम्बुवान हाम्रो अधिकार’ भन्ने पर्चा फेला परेको छ ।
उक्त घटना कसले घटाएको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस