विदेशमा रहेका नेपाली कामदारको अवस्था बुझ्न कार्यदल

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते ५:२२ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक– कुवेतस्थित नेपाली दूतावासको आश्रयस्थलमा रहेका महिला श्रमिकको अवस्था तथा विदेशमा रहेका नेपाली कामदारको स्थिति एवम् मानवाधिकारवादी, परराष्ट्र, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी सङ्घसँग जानकारी लिन सात सदस्यीय कार्यदल गठन भएको छ ।

व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको बैठकले काँग्रेस सभासद शिवबहादुर खड्का संयोजक रहेको सात सदस्यीय उपसमितिस्तरको कार्यदल गठन गरेको हो ।

उक्त कार्यदललाई तीन साताभित्र अध्ययन प्रतिवेदन पेस गर्न भनिइएको छ ।  बैठकले देशका विभिन्न कारागारको व्यवस्थापन र त्यहाँ रहेका बन्दीको मानवाधिकारको अवस्थाका बारेमा स्थलगत अध्ययन अवलोकन गरी सुझावसहित तीन साताभित्र प्रतिवेदन पेस गर्न एमाले सभासद पाँचकर्ण राईको संयोजकत्वमा सात सदस्यीय उपसमितिस्तरीय कार्यदल पनि गठन गरेको छ ।

बैठकले एमाओवादी सभासद हितराज पाण्डेको संयोजकत्वमा १३ सदस्यीय शान्ति तथा पुनःनिर्माण उपसमिति, एमाले सभासद टुकाभद्र हमालको संयोजकत्वमा मानवाधिकार उपसमिति र काँग्रेस मुख्तार महमदको संयोजकत्वमा १४ सदस्यीय सामाजिक न्याय उपसमिति पनि गठन गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us