जापानी मजदुरले बनाइदिए नेपाली मजदुरका छोराछोरी पढ्ने विद्यालय

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते २:४९ मा प्रकाशित

विराटनगर, २० कात्तिक– शिक्षाबाट बञ्चित मजदुरका छोराछोरीका लागि जापानका मजदुरले विद्यालय सञ्चालनमा ल्याएका छन् ।

जापानी मजदुरको सहयोगमा मोरङको कटहरीमा विद्यालय सञ्चालनमा ल्याएपछि बालबालिकालाई अध्ययन गर्न सहज भएको छ । गरिब अतिविपन्न वर्गका बालबालिकाका लागि कटहरी–१ स्थित आदर्शटोलमा जापान इन्टरनेसनल फाउन्डेसनको सहयोगमा अनौपचारिक प्रावि  बाल शिक्षाअन्तर्गत सो विद्यालय सञ्चालनमा आएको हो ।

जापानमा कार्यरत मजदुरको संस्था जापान इन्टरनेसनल लेवर फाउन्डेसन र नेपाल ट्रेड युनियन काँग्रेसको सहयोगमा विद्यालय सञ्चालनमा आएको शिक्षिका सावित्री ढकालले बताइन् ।

उक्त विद्यालयमा दलित, आदिवासी, जनजातिलगायत पिछडिएका ५० जनाभन्दा बढी बालबालिका अध्ययनरत छन् । संस्थाले प्रत्येक वर्ष अध्ययनरत विद्यार्थीका लागि नि:शुल्क रुपमा जुत्ता, चप्पल, विद्यालयका ड्रेस तथा न्यानो लुगा उपलब्ध गराउने गरेको छ ।

उनीहरुलाई तीन वर्षसम्म सो विद्यालयमा अध्ययन गराएर बाहिरका विद्यालयमा कक्षा ६ देखि ७ कक्षासम्म नाम दर्ता गराई संस्थाले पढ्ने व्यवस्था मिलाउने गरेको ढकालले बताइन् ।

विद्यालयमा चारदेखि १५ वर्ष उमेरका बालबालिका तथा युवा अध्ययनरत छन् । विद्यालयमा सो भेगका आधा दर्जन गाविसका मजदुरका छोराछोरी अध्ययनरत छन् । विद्यालयमा दुई सिफ्टमा दिनमा तीन/तीन घन्टा मात्र अध्यापन हुने गरेको छ ।

सो विद्यालय स्थापना भएसँगै विपन्न र पछाडि परेका बालबालिकाको पहुाच विद्यालयसम्म पुग्ने गरेको छ । दिनभर काम गरेर गुजारा चलाउने मजदुरका छोराछोरीको अध्ययनका लागि  विद्यालय सञ्चालनमा ल्याएपछि मजदुर खुसी भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us