ज्ञानेन्द्र सर्पको टाउको र काँग्रेस–एमाले पुच्छर हुन्: प्रचण्ड

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते १३:३९ मा प्रकाशित

prachandaविराटनगर, १९ कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक कब्जामा लिने सपना नदेख्न काँग्रेस–एमालेलाई चेतावनी दिएका छन् ।

मोरङको तीनपैनीस्थित पार्टी कार्यालयमा बुधबार भएको कार्यक्रममा उनले खास गरी काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीलाई त्यस्तो सपना नदेख्न भनेका हुन् ।

ज्ञानेन्द्रलाई सामन्तवादी निरंकुशतन्त्रको टाउको र कांग्रेस–एमालेलाई पुच्छरको संज्ञा दिए । उनले टाउकामा यसअघि नै हानिएको भन्दै अब पुच्छरमा हान्नुपर्ने बेला आएको बताए । ‘हामीले सर्प त मार्‍र्यौ, तर पुच्छरमा हान्न बिर्सेछौं’, प्रचण्डले भने, ‘पुच्छरले दु:ख दिन थालेको छ, अब पुच्छरमा हान्ने बेला आएको छ ।’

प्रचण्डले काँग्रेस–एमाले गठबन्धनले शान्ति सम्झौता तोडेको र मुलुकलाई हिन्दूवादको बाटोमा धकेलेको आरोप लगाए । उनले विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानसहित विगतका सहमति तोडेर काँग्रेस–एमालेले एकाधिकारवादी चरित्र प्रदर्शन गरेको भन्दै आफैंले गरेका सहमति र बाचाप्रति इमान्दार हुन आग्रह गरे ।

मुलुक विगतका सहमतिकै आधारमा चलेको भन्दै उनले सहमति तोडेकाले काँग्रेस–एमालेले सिंहदरबारमा बस्ने बैधानिकता गुमाइसकेको उल्लेख गरे ।

प्रचण्डले सुशील कोइराला र केपी ओलीले शान्ति प्रक्रिया भंग गर्ने नियतका साथ सात प्रदेशको प्रस्ताव अघि सारेको दाबी गरे । उनले काँग्रेस–एमालेले अघि सारेको संविधानको भावनाविपरीतको उक्त प्रस्ताव फिर्ता नलिए शान्ति सम्झौता भंग हुने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us