वैद्यलाई छाडेर भूमिगत हुने चन्दको तयारी

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ११:२४ मा प्रकाशित

mohan baidhya-netra bikram chandकाठमाण्डु, १९ कात्तिक– पार्टी कार्यदिशाको विषयलाई लिएर विवाद चर्किएका बेला नेकपा–माओवादीको नेत्रवक्रिम चन्द ‘विप्लव’ पक्षले देशभर ‘जनवादी क्रान्ति जिन्दावाद’ भन्दै भित्ते लेखन गरेको छ ।
चन्द पक्षले मंगलबार राति देशका ७५ वटा जिल्लाका विभिन्न स्थानमा उक्त नारा लेखेको हो । चन्दले गत केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन वैद्यको प्रस्तावमा असहति जनाउँदै नयाँ ढंगको जनवादी क्रान्ति गर्नुपर्ने समानान्तर प्रस्ताव ल्याएका थिए ।

‘एकीकृत क्रान्तिको सिद्धान्त’ शीर्षकको उक्त दस्तावेजमा सहरी विद्रोह र ग्रामीण वर्ग संघर्षबीच फ्युजन गर्ने उल्लेख छ । अध्यक्ष मोहन वैद्य पक्षले भने विद्रोहको आधार अझै तयार भइनसकेको बताउँदै आएको छ ।

चन्द पक्षीय एक केन्द्रीय सदस्यले आफूहरु छिट्टै जनवादी क्रान्ति थाल्ने तयारीमा रहेको काठमाण्डु टुडेलाई बताए । अध्यक्ष मोहन वैद्य सहमत नभए उनलाई छाडेरै भए पनि क्रान्ति सुरु गर्ने उनको भनाइ छ ।

‘हामीले प्रचारात्मक अभियानअन्तर्गत देशभर भित्तेलखन गरेका हौ’, उनले भने, ‘हामीले क्रान्ति गर्दैछौं भन्ने कुरा कसैलाई ढाँटेका छैनौं । वैद्यजीहरु आउनु भएन भने पनि हामी पछि फर्कन सक्ने अवस्थामा छैनौं, अगाडि जाने हो । आउने आउँछन्, नआउने छुट्छन् ।’

काँग्रेस–एमालेले पूरानै २०४७ सालको संविधान ल्याउने तयारी गरेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत विद्रोहको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको अवस्थामा वैद्य विद्रोहमा नआए उनको राजनीति समाप्त हुने ती नेताले उल्लेख गरे । विद्रोहको मुख्य रुप सहरी हुने र दुई वर्षभित्रमा केन्द्रीय सत्तामाथि नियन्त्रण कायम गर्ने योजना चन्दको छ ।
स्रोतका अनुसार नेता चन्दसहित मुख्य नेता अर्धभूमिगत बस्ने तयारी भएको छ । आन्दोलनका कार्यक्रम गर्दै जाँदा राज्यले निशाना बनाउने निष्कर्षसहित सुरक्षाका लागि त्यस्तो रणनीति बनाइएको हो । दमन भए पूर्ण रुपमा भूमिगत हुने तयारी चन्द पक्षले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us