प्रचण्डले कृष्णबहादुर महरा सहिद होइन भनेपछि……..

काठमाण्डु टुडे २०७१ भदौ २३ गते १३:४६ मा प्रकाशित

काठमाण्डु, २३ भदौ– एकीकृत माओवादीले हरेक वर्ष झैं भदौ २३ गते अर्थात सोमबार देशभर आफ्ना सहिद सुरेश वाग्ले ‘बासु’ को स्मृति दिवस मनायो ।
prachandaपार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पनि कार्यक्रम भयो । प्रमुख वक्ता थिए अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । कार्यक्रमको मञ्चमा थिए, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, टोपबहादुर रायमाझी र वाग्लेका छोरा विकास । कार्यक्रम सञ्चक महासचिव कृष्णबहादुर महरा थिए ।

केन्द्रीय कार्यालय सचिव हितराज पाण्डेले जीवनी वाग्ले पोखरेलको संक्षिप्त जीवन सुनाएपछि वाग्लेका छोराले बाबुका बारेमा केही मिनेट बोले । त्यसपछि बोल्ने पालो आयो प्रचण्डको ।

उनले १० वर्षे जनयुद्धमा जति ठूलो त्याग, तपश्या र बलिदान नेपालका कुनै पनि आन्दोलनमा नभएको भन्दै आफ्नो भाषण सुरु गरे । पार्टी विवादको पृष्ठभूमिसहित विवाद र बहसका बेला अतिवादी नभई सन्तुलित व्यवहार गर्न नेता कार्यकर्तालाई आग्रह गरे । बहसकै सन्दर्भमा सुरेश वाग्लेको भूमिका सम्झिए । बासु भएको भए अहिलेको विवादमा के भूमिका खेल्थे त्यो भन्ने नसके पनि बाँचुञ्जेल उनले सधैं सकारात्मक र रचनात्मक भूमिका खेलेको व्याख्या गरे ।

वाग्लेलाई त्यागी, सरल, वौद्धिक, परिपक्व र उच्चस्तरको चेतना भएको भन्दै सम्झिए । उनले बाबुराम भट्टराई र आफू वाग्लेसँग डराउने गरेको पनि सुनाए । उनले कृष्णबहादुर महरा र वाग्ले दुवै मिल्ने साथी रहेको प्रसंग जोडे । ‘कमरेड बासुले भनेपछि बाबुरामजी र म दुवैजना डराउँथ्यौं । महराजी र उहाँ एकदमै मिल्ने साथी । केही भयो की बाबुरामजी र म बासुकहाँ पुगेर लौ न यो त तपाईंले मिलाउनुपर्‍यो भन्थ्यौं । बासुजी र महराजी यता र उता दौडिएर मलिाउनु हुन्थ्यो । महराजी त सहिद भइनसकेका कारण उहाँका बारेमा धेरै भन्नु पनि परेन । तर पार्टी एकताका लागि सधैं भूमिका खेल्दै आउनुभएको छ ।’

प्रचण्डले महरा सहिद होइन भनेपछि मञ्चमा सहभागी नेता, तल बसेर सुनिरहेका कार्यकर्ता र समाचार संकलनका लागि पुगेका पत्रकार सबै गलल हाँसे । त्यसअघि महराले आफू र वाग्ले एउटै बैठकले पोलिट्ब्युरोमा पदोन्नति भएको भन्दै उनलाई स्मरण गरेका थिए ।
वाग्ले माओवादी जनयुद्धका क्रममा तत्कालीन राज्य पक्षद्वारा हत्या गरिएका सबैभन्दा उच्च तहका नेता हुन् । हत्या हुँदा वैकल्पिक पोलिट्ब्युरो सदस्य रहेका उनलाई तत्कालिन नेकपा माओवादीेल मरणोपरान्त पोलिट्ब्युरो सदस्य घोषणा गरेको थियो । वाग्लेको २०६५ साल भदौ २३ गते गृहजिल्ला गोरखाको गाँखुमा सैन्य कमाण्डर भीमसेन पोखरेलसँगै प्रहरीले हत्या गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us