सरकारी कर्मचारीलाई रिस नियन्त्रण गर्न तालिम

काठमाण्डु टुडे २०७१ भदौ १६ गते २:०९ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– आफूभन्दा कनिष्ठको पदोन्नति भयो आफ्नो भएन कहाँ भन्ने ? हाकिमबाट केही कुरामा गाली खाइयो, के गर्ने ? थोरै तलबबाट महिनाभर पारिवारिक आवश्यकता धान्न कठिन भयो, के गर्ने ?
सरकारी कर्मचारीमा यसरी उत्पन्न हुने तनाव व्यवस्थापन गर्ने निस्कर्षमा सरकार पुगेको छ । सरकारले कर्मचारीलाई क्षमता र पेशागत ज्ञानसँगै तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले ‘राष्ट्रिय तालिम कार्यक्रम’ सञ्चालन गर्ने तयारी गरेको हो ।

मन्त्रिपरिषदमा पठाइएको तालिमसम्बन्धी प्रस्तावमा व्यक्तिगत सामाजिक तथा कार्यस्थल वातावरणका कारण उत्पन्न हुने तनावसँग जुध्न सिकाउने पाठ्यसामग्री राखिएको छ ।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार तनावपूर्ण वातावरणले कर्मचारीको निर्णय क्षमतामा असर नपरोस् भन्ने उद्देश्यले तालिम दिन लागिएको हो । ‘कर्मचारीमा सबैभन्दा पहिले बजार भाउअनुसार तलबभत्ता नबढ्दा व्यक्तिगत र पारिवारिक तनाव हुने देखिएको छ,’ उनले भने ।
सामाजिक दायित्व बढी भएका कर्मचारीले ती दायित्व पूरा गर्न नसक्दा पनि तनाव व्यहोर्नुपर्ने हुन्छ । त्यस्तै सरुवा भएर परिवारबाट टाढा हुँदा, भनेका बेला बिदा नपाउँदा, कार्यालय प्रमुख र सहकर्मीसँग सम्बन्ध विग्रिँदा कर्मचारीमा तनाव देखिने गरेको छ ।

कार्यथलोमा इमान्दार भएर काम गर्दा वा कुनै काम गर्न र नगर्न भन्दै आउने धम्कीले पनि कर्मचारीमा तनाव हुने गरेको पाइन्छ । ‘यस्तै तनावको व्यवस्थापन कसरी गर्ने भन्ने तरिका र ज्ञान सिकाइनेछ’, अधिकारीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us