
शनिबार बिहान भर्खरै ओछ्यानबाट उठेर फ्रेस हुँदै थिएँ । ६ बजेतिर मोबाइलको रिङ बज्यो । पार्टीका सिन्धुपाल्चोक अध्यक्ष माधव सापकोटाको फोन रहेछ । उनले जिल्लाको माङखामा ठूलो पहिरो गएको र सुनकोसी नदी थुनिएर अरनिको राजमार्गसँगै जोडिएका नदी छेउका घरहरु डुब्ने खतरा रहेको बताए । केही सहयोहीहरुका साथ म तत्कालै त्यसतर्फ हिंडे । ८ बजे घटनास्थल पुगेको थिएँ । म पुग्दा सिडिओ, प्रहरीका डिएसपी र सेनाका कर्णेल घटनास्थलमा रहेछन् ।
अन्यौलग्रस्त अवस्था थियो, के गर्ने कसो गर्ने भन्ने थियो सबैमा । आकाशमा हेलिकोप्टरहरु घुमिरहेका थिए । केही प्रहरी, सेना र स्थानीय मानिसहरु उद्धारमा खटिएका थिए । घाइतेहरुको चित्कार सुनिन्थ्यो । केही शव बाटोमा विभत्स अवस्थामा थिए । पहिरोमा बाँच्न सफ भएकाहरुको भागदौड थियो ।
खबर सुन्ने बेलामा मैले कल्पना गरेभन्दा भयानक पहिरो गएको रहेछ । पहाडै फुटेर झरेछ । सुनकोसी नदी पारिसम्म पहाड थुप्रिएर टापुजस्तो बनेको थियो । नदीमा एक थोपा पनि पानी बगेको थिएन । थुनिएको नदीले वस्ती बगाउने खतरा बढ्दै थियो । पानी जमेर एक किलोमिटर क्षेत्रमा ताल बनेको थियो । पहिरोले पुरेको ड्यामसाइटबाट जुरेसम्म अरनिको राजमार्गको नाम निशान छैन । पहिरोमा कति मानिस परे, राहत र उद्धार कसरी अगाडि बढाउने अन्यौलका बीच सिन्धुपाल्चोककै जनप्रतिनिधका हैसियतमा सिडिओ र सुरक्षा निकायका प्रमुखहरुलाई परिचालन गरें । दिउँसो सेनाले नदी थुनिएको स्थानमा विस्फोट गरायो । त्यसपछि विस्तारै जमेको पानी बग्न थाल्यो ।
बामदेवले फोन उठाएनन्
म पुग्दा स्थिति नाजुक थियो । उद्धारमा भइरहेको ढिलाइका कारण जनता सरकारसँग आक्रोशित थिए । जनप्रतिनिधि भएको नाताले पीडितहरुले मप्रति पनि आशा र आक्रोश दुवै देखाए । जुन विल्कुलै स्वभाविक थियो । मैले त्यहंीबाट गृमन्त्री बामदेव गौतमलाई फोन लगाएँ । पीएले उठाए, तर बामदेवले कुरै गर्न चाहेनन् । पीएसँग भए पनि त्यहाँको अवस्थाबारे भनें ।
बामदेव सम्पर्कमा नआएपछि मुख्यसचिव लीलामणि पौडेललाई फोन गरें । उनले घटनालाई ‘सिरियसली’ लिएको र सडक विभागका महानिर्देशक र गृहसचिवलाई घटनास्थल पठाएको बताए ।
पहिरोले पुर्याएको क्षति
पहिरोमा अहिलेसम्म ३३ जनाको शव फेला परेको छ । १ सय १७ जना बेपत्ता छन् । ४३६ जना प्रत्यक्ष प्रभावित भएका छन् । १ सय ७८ घरधुरी प्रत्यक्ष प्रभावित भएकामा ५७ वटा घरको नाम निशाना छैन । २७ जना घाइते छन् । १४ जनाको काठमाण्डुमा र १३ जनाको जिल्लामै उपचार भइरहेको छ । त्यसमध्ये चारजना शिक्षण अस्पताल महाराजगञ्ज र १० जना बी एण्ड बी अस्पतालमा छन् । शिक्षण अस्पतालमा रहेका सन्जु लामा र कमला पराजुलीको अवस्था अत्यन्तै गम्भीर छ ।
राहत छैन, हल्ला मात्र धेरै
सरकारले उद्धार र राहतकार्य तदारुकताका साथ अघि बढेको हल्ला गरिरहेको छ । सञ्चार माध्यमहरुमा ठूल्ठूला निर्णयहरु गरेको समाचार पढ्न र सुन्न पाइएको छ । तर निर्णयअनुसार काम केही भएको छैन । बरु संकटग्रस्त क्षेत्र घोषणा गरेर जनतामा त्रासको भावना बढाएको छ सरकारले । म त्यस जिल्लाको जनप्रतिनिधि र आमनागरिकका हैसियतले भन्छु कि सरकारले छिटोभन्दा छिटो राहत, उद्धार र घाइतेको औषधि उपचारको काम गरियोस् । त्यसपछि विस्थापितको पुनस्र्थापनाको काममा ढिलाइ गर्नु हुँदैन । सरकारले तात्काकिलक, दीर्घकालिक र मध्यकालिक योजनाका साथ प्रभावित क्षेत्रमा राहत र उद्धारका काम गर्न जरुरी छ । जमेको पानी कम्तिमा २० मिटर मात्र घटाउन सके पनि घरका खण्डहरहरुमा पुरिएका बहुमूल्य सुन, चाँदी र नगद भेट्न सक्थ्यो । परिवार र घरबार गुमाएका पीडितहरुका लागि त्यसले पनि तत्काल केही राहत दिन्थ्यो । कसरी हुन्छ जमेको पानी बगाउन ध्यान दिनुपर्छ ।
पहिरो र बाढीले पाँचवटा विद्युत गृह बगाएको छ । झण्डै ७० मेगावाट विद्युत उत्पादन बन्द हुँदा जिल्ला पूरै अन्धकारमा डुबेको छ । त्यसका केही महत्वपूर्ण मेशिनहरु फेला परेको खबर प्राप्त भएको छ । प्राविधिकहरुले ती मेशिन जडान गर्न सके केही दिनभित्रै विद्युत आपूर्ति गर्न सकिने बताएका छन् । विद्युत सुचारु भए टेलिफोन सेवा पनि सुचारु हुन्छ ।
वैकल्पिक बाटो खोल्नुपर्यो
पहिरोले अरनिको राजमार्ग एक किलोमिटर भन्दा धेरै बगाएको छ । जसले यातायात आवागमन ठप्प भएको छ । मुलुकका चारमध्ये तातोपानी भन्सार एक हो । मित्रराष्ट्र चीनसँग नेपाललाई यातायात सञ्जालमा जोडेको उक्त राजमार्ग तत्काल सुचारु गराउन जरुरी छ । यातायात अवरुद्ध हुँदा तातोपानी नाकाबाट दैनिक संकलन हुने दुई करोड राजश्व राज्य कोषमा घाटा भएको छ । सुनकोसी, फापरचौर, केकनपुर, प्राधिकरण हँुदै खाडीचौरबाट वैकल्पिक बाटो निकाल्न सकिन्छ । प्राविधिकहरुले मलाई बताएअनुसार सरकारले इच्छा शक्ति देखाएको खण्डामा १५/२० दिनामै वैकल्पिक मार्ग निर्माण गरेर यातायात सुचारु गराउन सकिन्छ ।
हेलिकोप्टर मात्र घुमाएर भएन
सरकारले उद्धार र राहतको हल्ला मात्र धेरै गरेको छ । सिन्धुपाल्चोकको आकाशमा दिनमा दर्जनौंपटक हेलिकोप्टर उडेका छन् । हेलिकोप्टरको पंखाले टाउको चुँडाएर एक जनाको त ज्यानै गयो । जनता राहत र उद्धारको पर्खाइमा छन् । सरकार हेलिकोप्टर उडाएर रमिता देखाइरहेको छ ।
निशुल्क उपचार खै ?
सरकारले पहिरोमा परेर घाइते भएकाहरुको उपहार निशुल्क गर्ने घोषणा गरेको छ । तर बिरामीहरु औषधि नपाएर अस्पतालमा छट्पटिएको अवस्था छ । बिरामी अस्पतालमा ल्याएर राखिएको यत्तिका दिनसम्म सम्बन्धित अस्पताललाई निशुल्क उपहार गरिदिनु भन्ने व्यहोराको पत्र पठाइएको छैन । पीडितका आफन्तको अनुनय रसञ्चार माध्यममा आएका समाचारका आधारमा अस्पतालहरुले निशुल्क उपहार गरिदिने कुरा भएन । जनतालाई निशुल्क उपचारको गफ दिने तर व्यवस्थापन नगर्ने सरकारको व्यवहारबाट पीडितहरु दु:खी र आक्रोशित भएका छन् । उपचारका लागि तत्कालै बजेटको व्यवस्था मिलाइयोस् ।