महिला आयोगमा श्रीमति पीडित श्रीमानको उजुरी

काठमाण्डु टुडे २०७१ असार ९ गते ११:३७ मा प्रकाशित

२०६७ साल जेठ १९ गतेको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय महिला आयोगको सदस्य पदमा नियुक्ति भएको थिएँ । तीन वर्ष काम गरें । सुरुमा सदस्य नियुक्त भए पनि एक वर्षपछि प्रवक्ताको जिम्मेवारी पाएँ । त्यसको अलावा मेरो जिम्मेवारी आयोगको कानुन महाशाखामा थियो ।

mohana ansariमिडियामा काम गर्ने महिला नै असुरक्षित छन्
नेपालका ठूला मिडियाका काम गर्ने महिला दिदी बहिनीमाथि पनि दुव्र्यवहार हुने गरेको छ ।
मिडियामा अरु कार्यालयमा जस्तो १० बजेदेखि ५ बजेसम्म काम गर्ने भन्ने हुँदैन । आवश्यककताअनुसार जतिबेला, जहाँ पनि पुग्नुपर्छ । कामको कुनै ठेगान हुँदैन ।
एउटा टेलिभिजनले भर्खरै मात्र गर्भवती भएकी एक महिला पत्रकारलाई जागिरबाट निकालियो भन्ने सुन्नमा आएको छ । मिडियामा ‘सेक्युअल ह्रयास्मेन्ट’ त कति हुन्छ कति । त्यस्ता काममा व्यवस्थापन पक्ष नै संलग्न हुने गरेको छ । ‘स्क्रिनमा काम गर्नेहरुको स्क्रिन टेष्ट होइन, स्किन टेष्ट’ गर्ने भन्ने त चलनै रहेछ । नेपाली मिडियाले महिलालाई बिकाउने आँखाले हेरेको छ ।

काठमाण्डुका धनाढ्यहरुका आमा सडकमा
काठमाण्डुका धेरै धनाढ्यका आमाहरु सडकमा छन् । काठमाण्डुको थाथाथलीमा रहेको सेन्ट जेभिएर कलेज नजिकै राज्यलक्ष्मी ठकुरी भन्ने एक जना वृद्धा हुनुहुन्छ । ठूलो महल छ । घरमा छोराबुहारी सबै छन्, तर उहाँको सडकमा बास छ । त्यस्ता धनाढ्य अरु पनि होलान तर ७ जना जतिको त महिला आयोगमै जानकारी आएको थियो । मलाई दु:ख छ, चाहेर पनि उहाँहरुलाई न्याय लिन सकिएन । २४ सै घण्टा सडकमा बास बस्न बाध्य उनीहरु असुरक्षित छन् । किन भने नेपाल भनेको एक सय दुई वर्षकी महिलासमेत बलात्कृत हुने देश हो । असुरक्षित हुनु भनेको कसैले खुकुरी नहान्ला, गोली नहान्ला तर अरु किसिमको असुरक्षाका कारण ती वृद्धाहरु पीडित छन् ।

युवा विदेशिएका कारण विकृति
नेपालमा बेरोजगारी समस्या भयावह रुपमा रहेको छ । स्वदेशमा रोजगारी नपाएपछि विदेशिनु बाध्यता हो । अहिले दिनमा एक हजारको हाराहारीमा युवाहरु विदेश पलायन भइरहेका छन् । नेपाली समाजमा अपराधिक गतिविधि बढ्नुमा यो एउटा समस्याका रुपमा देखा परेको छ  । श्रीमान विदेशमा हुन्छ, नेपालमा श्रीमति अर्कैसँग । कतिपय त विदेशबाट श्रीमानले पठाएको पैसा कुम्ल्याएर अन्तै गएका उदाहरण छन् । सामाजिक रुपमा यसले ठूलो समस्या ल्याएको छ । यो अझै भयावह हुने खतरा छ ।
शिक्षितले नै लुकाउँछन् घटना
समाजका शिक्षित भनिने मानिसहरुमा समेत यौन हिंसाको मानसिकता छ । अझ सहरिया मानिहरुमा यस्ता घटना लुकाउने प्रवृत्ति धेरै छ । गाउँघरका मानिसहरु यस्ता कुरा बाहिर ल्याउँछन् । गाउँमा श्रीमान–श्रीमतिको झगडा भयो भने श्रीमति सडकमै आएर बचाउ भनेर कराउँछिन् । तर सहरियाहरु कथित इज्जतमा धक्का लाग्ने भन्दै घटना लुकाउँछन् ।
श्रीमानले कुटेर अनुहारमा घाउ भएको हुन्छ, तर कसैले के भयो भनेर सोध्यो भने बाथरुममा नुहाउने बेलामा लडेर यस्तो भयो भन्ने जवाफ दिन्छन् । श्रीमानले गल्ती गर्दा पनि सहरिया महिला त्यसलाई ढाकछोप गर्छन् । श्रीमानले परस्त्रीसँग शारीरिक सम्बन्ध राखेकै थाहा पाए पनि सहरिया महिलाहरु लुकाउँछन् । खासमा त्यसो हुनुमा पारिवारिक कारण हो । श्रीमानले छोडेको खण्डमा बालबच्चाको जिम्मेवारी कसरी सम्हालने भन्ने चिन्ता हुन्छ । श्रीमानले दिएको शिन्दुर पोतेलाई आफ्नो सौभाग्य ठान्ने मनोविज्ञानका कारण महिलाहरु हिंसाविरुघ खुलेर बोल्न सक्दैनन् । त्यसैले महिला हिंसा कम हुन उनीहरु आर्थिक रुपमा सबल हुनुपर्छ ।

श्रीमति पीडित पुरुष पनि न्याय माग्न आउँछन्
हाम्रो समाजमा पुरुषबाट महिलामाथि मात्र होइन, महिलाबाट पनि पुरुषमाथि हिंसा हुने गरेकोछ  । म महिला आयोगमा रहँदा केही पुरुषहरु श्रीमतिबाट पीडित भएकामा उजुरी लिएर आएका थिए । कोही श्रीमति अर्कैसँग हिंडेको, कोही श्रीमतिबाट नै यातना पाएको र कोही धनसम्पत्ति कब्जा गरेर श्रीमति भागेको जस्ता मुद्धा लिएर आउँथे । हामीले महिलामाथि भएको हिंसामा मात्र न्याय दिलाउन सघाउने हो । हाम्रो क्षेत्राधिकारभित्र त्यस्ता कुरा पर्दैनन् । त्यसैले अन्य कानुनी उपचारका लागि राम्रो सल्लाह दिएर पठाइदिने गरिएको छ ।

दोषीलाई छाड्न माथिबाटै दबाब आउँछ
एक वर्षअघि त्रिचन्द्र क्याम्पसमा केही शिक्षकहरुले चिट खोस्ने बहानामा छात्राहरुको संवेदनशील अंगमा हात लगाएका थिए । शिक्षकहरु पक्राउ परे, तर दलका नेताहरुले नै उनीहरुलाई छाड्नुपर्‍यो भन्दै फोन गरेर दबाब दिए । त्यसमा केही सरकारका बहालवाला मन्त्री र अधिकांश दलका दोश्रो तहका नेताहरु थिए । मुलुकको राजधानीमा त्यस्तो जधन्य अपराध भइरहेको छ भने दुरदराजमा यस्ता घटना कति भइरहेका होलान् ।

तर मैले दबाबमा उनीहरुलाई छाड्न मानिन । कतिपय कानुन व्यवसायीहरु मानवअधिकारका ठूला कुरा गरेर हिंड्छन् उनीहरुले नै त्यो केस हेर्न मानेनन् । तर त्रिभुवन विशवविद्यालयले राम्रो सहयोग गर्‍यो र दोषीमाथि कारबाही भयो । प्राध्यापकहरु थिए, उनीहरुलाई आशय करणीको मुद्धामा कारबाही गरियो ।
अर्को घटना पनि छ । विराटनगर बेलबारीमा गाउँले सबै मिलेर एक दलित महिलामाथि दुव्र्यबहार गरे । बलात्कारमा परेकी महिला च्यातिएको कपडा र चिथोरेर घाउ नै घाउ भएको अनुहार लिएर प्रहरीमा उजुरी दिन गइन्, तर प्रहरीले सामान्य घटना भन्दै चासो दिएन ।

एक दिनपछि गाउँले सबै उल्टिएर पीडित महिलामाथि खनिए । उनलाई जुत्ताको माला र कालो मोसो दलेर गाउँ घुमाइयो । अग्लो ठाउँमा उभ्याएर सयौं मानिसको उपस्थितिमा पीडितलाई उल्टै माफी माग्न लगाइयो । यो घटनाले ठूलै हंगामा ल्याएको थियो । बलात्कारजस्तो जघन्य मुद्धामा प्रहरीले मिलेमतो गराउन खोजेको थियो । काठमाण्डुको अनामनगरमा भएको एउटा घटनामा नेपाल प्रहरीका एआईजी भीष्म प्रसाईंले नै दोषीलाई जोगाउन खोजे । सरस्वती सुवेदीको जुन घरमा काम गर्न बसेकी थिइन्, त्यही घरका मानिसले हत्या गरेका थिए । त्यसमा पनि पीडकलाई उन्मुक्ति दिन ठूलै राजनीतिकरण भएको थियो ।

(राष्ट्रिय महिला आयोगकी पूर्वप्रवक्ता मोहना अन्सारीसँग गरिएको कुराकानीमा आधारित )

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us