अन्तरकलहमा निजी कलेज

काठमाण्डु टुडे २०७१ असार ९ गते ७:५५ मा प्रकाशित

काठमाण्डु–  आठ वर्षअघि स्थापित डिल्लीबजारस्थितको दी टाइम्स इन्टरनेसनल कलेजका संस्थापक अहिले तितरबितर भइसकेका छन् ।

samayकलेजका प्रिन्सिपल डा. तारानाथ शर्मा त्यहाँबाट बाहिरिएका छन् । सुरुका दिनमा डा. शर्मालाई नै विज्ञापनमा देखाएर विद्यार्थी भर्ना बढाउने सोच लिएको यस कलेजको प्रिन्सिपल बत्तीसपुतलीस्थितको गोल्डेन गेट इन्टरनेसनलका (पूर्व ?) सञ्चालक योगराज गौतम बनेका छन् ।

उनी लगानीकर्तासहितको हैसियतमा छिरेका हुन् ।

टाइम्सका सञ्चालक (अध्यक्ष) नवनिधि पन्त अहिले लगानी झिक्ने प्रक्रियामा छन् । प्रकाशन व्यावसायी पन्तलाई शिक्षा क्षेत्र सायद फापेन । आफैँ पढाउने र प्राज्ञिक काममा सहभागी नहुनेहरू शिक्षा क्षेत्रका लगानी गर्दा या एकाएक नाफामा पुग्छन् या घाटा र विवादमा फस्दै आएका छन् ।

गौतम चार महिनाअघि टाइम्समा प्रवेश गरेका हुन् । उनको ११ प्रतिशत लगानी छ । कलेजको कुल पुँजी ११ करोड रुपैयाँ मानिन्छ । गौतम र करुणा केसीको प्रवेशसँगै पुराना सञ्चालक रामहरि सिलवाल र राजेन्द्र कोइराला बाहिरिएका छन् ।

निजी कम्पनी वा फाउन्डेसनका रूपमा चलेका कलेज र उमाविमा प्रक्रियाका रूपमा सञ्चालक आउने जाने कानुनतः वैध हो तर छिटोछिटो आउने जाने तथा बस्नै नसकेर निस्कने वा हटाइने अवस्था देखिएका छन् ।

यता, गोल्डेन गेटप्रमुख कार्यकारी रमेश सिलवालले भने गौतमका केही कमजोरीका कारण उनलाई हटाइएको बताउँछन् । गौतम भने कानुनतः आफू गोल्डेन गेटको सञ्चालक रहेको र आफ्नो रकम फरफारक र हैसियत स्पष्ट बनाउन कानुनी लडाइँ लडिरहेको जनाउँछन् ।

राजनीतिक दल तथा सामाजिक संस्थाका गुटबन्दी र विभाजन लाग्छन् तर शिक्षाजस्तो पवित्र क्षेत्रमा यो रोग क्रमशः फैलँदै छ । राजनीतिक क्षेत्रमा विवाद र विभाजन देखेभोगेका नेपालीले निजी शिक्षण संस्थाभित्रको गुटबन्दी र बेथितिलाई धेरै चिन्न पाएका छैनन् ।

दलभित्रका विवाद प्रायः पारदर्शी वा सार्वजनिक हुन्छन् । तिनलाई सञ्चारमाध्यमले पनि यथेष्ट स्थान दिन्छन् । निजी कलेज र उमाविमा भुसको आगोझैँ भित्रभित्रै सल्किरहने विवाद, रहस्य र चलखेलको थुप्रोलाई सञ्चारमाध्यमले पनि सबै उजिल्याउन सक्दैनन् ।

ठूला निजी कलेजले प्रमुख सञ्चारमाध्यमलाई नियमित विज्ञापन दिने भएकाले पनि होला त्यहाँभित्रका विवाद र समस्या प्राथमिकतासाथ समाचार प्रकाशन भएको पाइँदैन ।

टाइम्सका प्रिन्सिपल गौतम भन्छन्, ‘कतिपय कलेजमा व्यापारिक घरानाको जस्तो प्रमुख कार्यकारीमा पदमा बस्नेले आफू सेलिब्रेटी बन्ने, स्रोत–साधन दुरुपयोग गर्ने र कर्पाेरेट कल्चर नदेखाउने गर्नाले यो समस्या आएको हो ।’

तर, गोल्डेन गेट प्रमुख कार्यकारी रमेश सिलवाल गौतमका आरोपमा सहमत छैनन् । उनको भनाइ छ, ‘शरीरमा पिलो छ भने त्यसलाई निकालेर फाल्नुपर्छ । यो नियम कलेजमा पनि लागू हुन्छ । घरका दाजुभाइ त सँगै बस्दैनन् भने कलेजको लगानी झिक्न जसले पनि पाउँछन् ।’

खुमलटारको नयाँ भवन बनाउँदा लिटिल एन्जल्सका प्रिन्सिपल उमेश श्रेष्ठ र हिमालय ह्वाइट हाउस प्रमुख कार्यकारी युवराज शर्माका विवाद पनि त्यति बाहिर आएन । उच्च माध्यमिक विद्यालय संघ (हिसान) अध्यक्ष र महासचिव भएकाले पनि दुवैले विवादलाई सायद बाहिर ल्याएनन् ।

पछिल्लो समयमा युवराज शर्मा नयाँ विवादमा तानिएका छन् । ह्वाइट गोल्ड कलेज खरिद गर्नेगरी उनले जगत देसारसँग गत मंसिरमा गरेको सम्झौतालाई उच्च माध्यमिक शिक्षा परिषद्ले गैरकानुनी भनिदिएपछि दुवै संस्था अप्ठ्यारोमा परेका छन् ।

पहिला डा. अभि सुवेदी अध्यक्ष रहेको ह्वाइट गोल्ड नयाँ व्यवस्थापनले लिएपछि आर्थिक ओह्रालो लागेपछि ठूलो लगानीकर्ताका रूपमा शर्मालाई भित्र्याउन खोज्दा थप समस्या पैदा भएको हो । देसार निम्सका संस्थापक थिए ।

पुरानो सेयरधनी दीपक निरौला अरनिको उमाविमा गएपछि अर्का सेयरधनी नरेशचन्द्र उपाध्यायको २५ लाख रुपैयाँ तिर्न नसक्दा देसारहरूले शर्मासँग सवा पाँच करोडमा कलेज सुम्पने सम्झौता गरे तर आठ महिना बित्दा पनि रकम नपाएपछि सम्झौता तोडिएको छ । जसका परिषद्ले पनि छानबिन गरिरहेको छ ।

कपिल रेग्मीले अगुवाइ गरेको डनबस्को (प्रज्ञाकुञ्ज) मा रहेका युवराज शर्मा ग्रीन भ्याली कलेज हुँदै रमेश सिलवालसँगै ह्वाइट हाउउ इन्टरनेसनल कलेजमा आइपुगेका थिए । केही वर्षमा सिलवालहरू बाहिरिएर गोल्डेन गेट बनाए । क्याम्पियन कलेजलाई अहिले नयाँ व्यवस्थापनका रूपमा चौधरी ग्रुपले सम्हालेको छ ।

पेन्टागन प्रमुख कार्यकारी एसपी सिंह आन्तरिक रूपमा निर्विवाद बन्न सकेका छैनन् । नासा र पेन्टागनको झगडा पुरानो लेनदेन हो भनिन्छ । मोर्गान कलेज अध्यक्ष पूर्वमन्त्री देवी ओझा र सञ्चालक प्रकाश पाण्डे पनि कलेजबाट बाहिरिएका छन् भने तक्षशिलाका डा. जयराज आचार्यले छाड्ने बाटो हेर्दै छन् । लिभरपुलका गोविन्द घिमिरे अरनिको उमाविमा पुगेका छन् ।

ज्ञानकुञ्ज, जुबिलियन्ट, क्याम्ब्रिजमा विभिन्नपटक व्यवस्थान परिवर्तन भइसकेको छ । प्रिन्सस, नासा, पेन्टागन, वार्षा, लिभरपुल, एभरेष्ट फ्लोरिडा आदिमा पनि सेयरधनीबीचको विवाद हुने पुरानै रोग हो ।

जस्तै जेभियर इन्टरनेसनलका नवराज थापा प्रिमियरमा गए । जेभियरकै उमेश थापाले ट्रिनिटी चलाइरहेका छन् । लिभरपुलमा डन भनेर चिनिने केही व्यक्तिको पनि लगानी रहेको पाइएको छ ।

साउथ वेस्टर्न स्टेन कलजेका भाइस प्रिन्सपल हरिसिंह केसी नेतृत्वको भूमिका र संयोजकमा आन्तरिक व्यवस्थापन कस्तो हुनेमा भर पर्ने बताउँछन् । नयाँ कार्यक्रम नभएर घाटा हुनुले पनि सञ्चालक जाने आउने गरेको हुनसक्ने उनको भनाइ छ ।

निजी कलेज र उमाविमा कस्ता व्यक्तिले लगानी गर्ने भन्ने कुनै मापदण्ड छैन । पैसा हुने जो पनि सञ्चालक बन्न सक्छ तर विवाद र तनाव हुनेगरी सञ्चालकले यो आवतजातवले शिक्षा क्षेत्रमा व्यापारिकरण र माफियाकरणको आरोपलाई सघाइरहेको हुन्छ ।

समयबोध मासिक, अंक ११, असार ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us