सिरियामा मारिने एक लाख ६२ हजार पुगे

काठमाण्डु टुडे २०७१ जेठ ५ गते १२:२९ मा प्रकाशित

काठमाण्डु, ५ जेठ – सिरियामा तीन वर्षदेखि जारी रहेको हिंसाका क्रममा मारिने नागरिको सङ्ख्या कम्तीमा पनि एक लाख ६२ हजार पुगेको समाचारमा जनाइएको छ ।

सिरियाली आन्दोलनको अनुगमन गरिरहेको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सोमबार सो जानकारी दिएको हो ।

बेलायतमा मुख्यालय रहेको सो मानवअधिकारवादी संस्थाले सिरियामा मारिएका नागरिकको बारेमा त्यहाँ प्राप्त समाचारका साथै प्रत्यक्ष भ्रमणका आधारमा सो समाचार सार्वजनिक गरेको हो ।
सोमबार सो संस्थाले सार्वजनिक गरेको समाचारअनुसार सिरियाली आन्दोलनमा मारिने नागरिकको सङ्ख्या एक लाख, ६२ हजार ४०२ जना रहेको छ ।

ती मध्ये ५३ हजार ९७८ जना सर्वसाधारण रहेका छन् । मारिनेमा आठ हजार ६०७ जना बालबालिका पनि परेका छन् ।

त्यसमध्ये मारिनेमा ६१ हजार १७० जना सिरियाली सैनिकलगायतका पनि परेका छन् । ती मध्ये ३७ हजार जना सिरियाली सैनिक र २३ हजार जना भने सिरियाली सरकार समर्थित सशस्त्र समूहका सदस्य रहेका छन् ।

सो हिंसामा परी मारिने करिब तीन हजार नागरिकको पहिचान हुन सकेको छैन । सन् २०११को मार्च महिनाबाट सिरियामा सरकार विरोधी आन्दोलन सुरु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us