अपाङ्ग महासंघको अनशन तोडियो

काठमाण्डु टुडे २०७० फागुन ३ गते १२:५५ मा प्रकाशित

काठमाण्डु, ३ फागुन– राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल सरकारबीच दुईबुँदे सहमति भएपछि ६ दिनदेखि जारी अपाङ्ग महासंघको अनशन तोडिएको छ ।

संविधानसभामा मनोनीत गरिने २६ जना सभासद्को मनोनयनका लागि राजनीतिक दलहरुसँग वार्ता गर्दा नेपाल सरकारले अपाङ्गता भएका नागरिकको संविधानसभामा प्रतिनिधित्वको सुनिश्चितताका लागि अधिकतम पहल गर्ने सहमति भएपछि महासंघले आजबाटै अनशन तोडिएको हो ।

सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव सूर्यप्रसाद सिलवाल, महासंघका तर्फबाट अध्यक्ष सुदर्शन सुवेदीबीच दुईबुँदे सहमतिमा हस्ताक्षर भएपछि अनशनस्थल भद्रकालीमा एक कार्यक्रमबीच अनशन अन्त्य गरिएको हो ।

अनशन अन्त्य कार्यक्रममा प्रमुख चार राजनीतिक पार्टीका नेताहरुले मनोनीत २६ सिटमा आफ्नो पार्टीको तर्फबाट अपाङ्गको प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us