सत्ता समर्थित दलहरुले यसरी झाँटे एमाले नेतालाई

काठमाण्डु टुडे २०७० माघ २९ गते ९:४० मा प्रकाशित

काठमाण्डु, २९ माघ– सरकार समर्थित  दलहरुले सत्ताको झगडामा लागेर संविधान लेखनको मुल दायत्विबाट पछि नहड्न एमालेलाई सुझाव दिएका छन् ।
काँग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीमा समर्थन जनाएका दलहरुसाग एमाले नेतृत्वले आज गरेको छलफलमा उनीहरुले मन्त्रालय बाँडफाँटमा देखिएको विवाद तत्काल समाधान गरी सरकारलाई पूर्णता दिन आग्रह गरेका हुन् ।

सत्ता भागवण्डाको झगडामा लाग्दा फेरि पनि संविधान बन्न नसक्नेमा सचेत गराउँदै ती दलले संविधान निर्माणमा ध्यान केन्द्रित गर्न सुझाएका थिए । छलफलमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता स्वार्थलाई भन्दा संविधान निर्माणलाई केन्द्रमा राखेर चल्न सुझाव दिएको जानकारी दिए ।

उनले समयमै लोकतान्त्रिक संविधान निर्माण गर्ने भए कााग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताए । ‘काँग्रेस–एमाले मिलेर लोकतान्त्रिक संविधान बनाउ, नभए इतिहास दोहोरिएला भन्ने कुरा राखें’, केसीले काठमाण्डु टुडेसँग भने, ‘काँग्रेस एमाले सत्तामा त पहिला पनि गएका हौ, संविधान बन्यो भने फेरि जाऔला अन्यथा सत्तामा जाने बाटो सधैंका लागि बन्द हुन पनि सक्छ ।’

एमाले नेताहरुले भने प्रधानमन्त्री निर्वाचनअघि भएको सहमति अनुसार गृह मनत्रालय नदिएर काँग्रेसले धोका दिएको बताएका थिए । बैठकपछि सञ्चारकर्मीसँग एमाले उपाध्यक्ष बामदेव गौतमले गृह मन्त्रालय नदिएसम्म सरकारमा नजाने निर्णयमा पार्टी अडिग गरेको बताए ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा एमालेबाट अध्यक्ष झलनाथ खनाल, उपाध्यक्षद्वय गौतम र भण्डारी तथा राप्रपा नेता पशुपतिशम्सेर राणा, माले अध्यक्ष सीपी मैनाली, नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे तथा जनमोर्चा अध्यक्ष केसी सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us