सवा अर्बको लागतमा विद्युत् आयोजना

काठमाण्डु टुडे २०७० माघ २८ गते ४:०० मा प्रकाशित

electryबागलुङ, २८ माघ –बागलुङ दरमखोलाको जलस्रोत उपयोग गरी सवा अर्ब लगानीमा विद्युत् आयोजना बन्ने भएको छ । रिघा मनेवा दरमखोला जलविद्युत् सहकारी संस्था लिमिटेडले आयोजना निर्माण गर्ने भएको हो ।

गत वर्ष नै सर्वे अनुमतिपत्र प्राप्त गरी आयोजनाको विस्तृत सर्वेको काम सम्पन्न गरिएको आयोजनाले जनाएको छ ।
सात मेगावट क्षमताको उक्त आयोजनाको पूर्वाधार निर्माणको काम छ/आठ महिनाभित्रै सुरु हुने सहकारीका अध्यक्ष गङ्गाबहादुर भुजेलले बताए । बागलुङका ६ र गुल्मी जिल्लाका दुई गरी आठ गाविसलाई कार्यक्षेत्र बनाई जलविद्युत् उत्पादन गर्ने संस्थाको लक्ष्य छ ।

संस्थाले अहिले आयोजना प्रभावित क्षेत्रका बासिन्दामाझ लगानीमैत्री वातावरण सिर्जना गर्न जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

निर्धारित समयमै आयोजना सफल पार्नको लागि जिल्लामा रहेका अन्य सहकारी संस्थाहरुको लगानी आवश्यक पर्ने अध्यक्ष भुजेलको भनाइ छ । कुल १ अर्ब २७ करोड ८४ लाख ६० हजारको लागतमा निर्माण हुने आयोजना निर्माणको काम ३ वर्षभित्र सकिने भुजेलले जानकारी दिए । संस्थाले आयोजनामा बैंक तथा सहकारीहरुको लगानी भित्राउन जिल्लास्तरीय छलफल कार्यक्रम समेत आयोजना गरिसकेको छ ।

जिल्लाका विभिन्न सहकारी संस्थाका अगुवाले आयोजनामा लगानी गर्ने इच्छा देखाएका छन् । ३० प्रतिशत सहकारी र स्थानीयहरुको लगानी राख्ने आयोजनाको लक्ष्य अनुसार सहकारीहरु लगानी गर्न सकारात्मक देखिएका हुन् ।

बाँकी ७० प्रतिशत लगानी बैंकको ऋण जुटाइने भएको छ । ‘हामीले जिल्लास्तरमै व्यापक छलफल र अन्तरक्रिया गरेर अघि बढेका छौं, अन्य सहकारीहरु पनि लगानी गर्न तयार छन्, सहकारीकर्मीहरु प्रतिवद्ध हुनुहुन्छ’ भुजेलले भने, ‘त्यसको स्पष्ट कार्ययोजनासहित लगानीको सुनिश्चितता गरेर अघि बढ्छौं ।’

भुजेलले १० वर्षभित्र १० हजार मेगावट विद्युत् उत्पादन गर्ने यसअघिको सरकारी लक्ष्य पूरा गर्न आयोजनाले टेवा पु¥याउने बताए । सदरमुकादेखि पश्चिम ५६ किलोमिटरको दूरीमा रहेको आयोजनास्थल बागलुङ जिल्लाको मल्म, काँडेवास, रिघा गाविस र गुल्मी जिल्लाको अर्लाङकोट र वामी गाविस बीचबाट बग्ने दरमखोलामा रहेको छ । जुन मध्यपहाडी पुष्पलाल लोकमार्ग नजिकै पर्छ ।

सात मोघावाटको उक्त आयोजनाबाट वार्षिक चार करोड २३ लाख ३० हजार युनिट विद्युतीय ऊर्जा  उपलब्ध गराउन सकिने आयोजनाका प्रबन्धक तथा इन्जिनियर मनबहादुर श्रीसले बताए ।

कृषि तथा उद्योगजस्ता उत्पादनमूलक, शिक्षा र स्वास्थ्यजस्ता सेवामूलक, यातायात, सिँचाइ, खानेपानीजस्ता पूर्वाधार विकासका लागि आवश्यक विद्युतीय ऊर्जा उपलब्ध गराउने आयोजनाको लक्ष्य रहेको श्रीसको भनाई छ । उक्त आयोजना बनेपछि बागलुङ जिल्ला विद्युत्भार कटौतीमुक्त बन्ने ठानिएको छ ।

उच्चतम प्रतिफल आउने गरी आयोजनाको काम जतिसक्दो छिटो पूरा गरिने श्रीसको भनाइ छ । स्थानीय जनता तथा संस्थालाई आयोजनामा चाहेबमोजिम सेयर राख्न पाउने, आयोजनामा काम गर्ने श्रमिकको श्रमलाई समेत सेयरमा बदल्ने व्यवस्था मिलाइने श्रीसले जानकारी दिए ।

आर्थिक तथा समाजिक रुपले पछाडि परेका वा रहेका समुदायलाई समेत आयोजनामा सेयर स्वामित्व राख्न सक्ने व्यवस्था मिलाइने आयोजनाले जनाएको छ ।

यस क्षेत्रको विकासमा दूरगामी प्रभाव पार्ने ठानिएको यस आयोजना सञ्चालन आएपछि वार्षिक २३ करोड ३० लाख आम्दानी हुने बताइएको छ ।

वार्षिक ऊर्जा उत्पादन प्रतिघण्टा ३.३३ गिजावाट हुने आयोजना प्रबन्धक श्रीसले जानकारी दिए । स्थानीय पुँजी प्रयोगलाई अधिकतम प्राथमिकता दिइने र वातावरणीय प्रभावलाई अति न्यून गराउन प्रयास गरिने श्रीसको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us